२०८१ अशोज ४, शुक्रबार

हिमाल चढ्ने रहर, अब अति भएन र ?

टेलिभिजन, छापा, अनलाइन समाचारमा हिमाल चढ्नेको रेकर्ड, खबर दिनहुँ जसो आउँछ । एक दिन एक युवती आरोही एक नामी पत्रकारसँग भरखरैको हिमाल आरोहणको विवरण सुनाउँदै थिइन् ।

“…वाह, यति सानो उमेरमा यत्रो उपलब्धि … !”

युवती मख्ख थिइन् । उत्सुक बुढा पत्रकार सोध्दै गए ।

तर विस्तारै युवतीको अनुहार मलिन भयो, “….तर म हिमाल चढ्न जाँदा धेरै अघि नै परिवारमा चिन्ताले सताउन थाल्छ ….

….म फर्केर आउँछ कि आउँदैन भनेर…. ।”

हुन पनि लगत्तै अर्को केही दिनमा अर्को खबर आउँछ । यो सिजनको पहिलो अमेरिकी आरोहीले आरोहणका क्रममा सगरमाथामा ज्यान गुमाउन पुगेछन् ।

समवेदनाको वर्षा हुन्छ । चिनेकाबाट, नचिनेकाबाट ।

अनि अर्को समूहमा पनि हिउँ पहिरोले फेरि धेरै नेपालीहरुको ज्यान गएको खबर आउँछ । एक क्यानेडियन डाक्टर सहित ।

अझ धेरै सम्वेदना आउँछ ।

कठै !

तिनको परिवार बा–आमा छोराछोरीको के हाल भयो होला !

आखिर यत्रो जोखिम किन लिन्छन् होला मान्छे ? सोच्दै रहें ।

फेरि समाचार, पत्रत्रिकामा छ्याप्छ्याप्ति छाउँछ ।

“….बधाइ छ निम्स दाइ !
…बधाई छ कामी शेर्पा दाइ !
…एतिहासिक सफलतालाई ।

अर्को महिला समूहले पनि कैयन ८००० मिटर माथिका हिमाल चढेका रहेछन् ।

…बधाइ छ चेलीहरुलाई । “

गाउँपालिका देखि परदेश, संघ राजधानीसम्म, देश विदेशमा हल्ला, मान सम्मान हुन्छ । उपभोक्तावादको, ग्लामरको जमाना छ, ख्यातिसँगै पैसा पनि हुन्छ ।

“….अरे डरके आगे जित हे !

…यी यो पेय पिउनुस्, सफल मान्छे बन्नुस् ।”

पेय पदार्थ देखि पहिरनसम्म, घडी, गाडी, घडेरीसम्म फोटो छापिन्छ । भिडियो बज्छ । रोल मोडल बनिन्छ ।

तर हिमाल चढ्ने आफैमा आरोहणले साँच्चिकै के प्रभाव हुँदो होला ?

सगरमाथाको पहिलो सफल आरोही, विश्वविख्यात एड्मन्ड हिलारी सगरमाथा आरोहणका क्षणहरुबारे लेख्छन् ः

“…म धेरै थाकेको थिएँ र तलको (फर्कनु पर्ने) लामो बाटोमा सुरक्षाबारे धेरै सचेत थिएँ, वास्तवमा कुनै ठूलो आनन्द महसुस गर्न भन्दा पनि । तर जब हाम्रो सफलताको तथ्य मेरो दिमागमा स्पष्ट रुपमा ठोक्किन थाल्यो, मैले शरीरमा सन्तुष्टिको एक शान्त ज्वाला महसुस गरें – त्यो सन्तुष्टि मन्द तर पहिलेका पहाडको चुचुरोमा महसुस गरे भन्दा शक्तिशाली थियो । … लगभग हामी उभिएको ठाउँ मुनि, प्रसिद्ध उत्तरी कोल र पूर्वी रोङबुक ग्लेशियर थियो, जहाँ पहिले ब्रिटिश सगरमाथा अभियन्ताहरूले साहस र सहनशीलताको इतिहास रचेका थिए । … अनि खिचिंदै मेरा विचारहरू तीस वर्ष अघि हिमालमा ज्यान गुमाएका म्यालोरी र इर्विनतिर फर्किए… चार्ल्स इभान्स र टम बोर्डिलनलाई स्पष्ट रूपमा सम्झें, जो मृत्यु नजिकको थकाइमा, आफूलाई घिसार्दै थिए……जर्ज लोव र ग्रेगरीले छोड्दाको डरलादो एक्लोपन, र त्यसपछि, अन्तिममा, शिखरमा तेन्जिङको विजयको मुस्कान …

……र हाम्रो आरोहण अभियान समाप्त भयो ।”

तर तिनले हिमाल चढेको खबर पश्चिमा समाचारले नफुक्दासम्म हिमाली गाउँहरुमा सायदै ठुलो विषय बनेको हुनु पर्छ । “मैले हिमालको टुप्पो चढेर आएँ” भनेर हिमाली गाउँमा कसैले भन्यो भने त्यो ठुलो खासै खबर हँुदैन । कमसेकम त्यो समय ताका । तर जब पिछडिएका शेर्पा समुदाय र नेपालको शैक्षिक, आर्थिक उत्थानमा उनले खटेर सहयोग गरे, वर्षौसम्म आफ्नो खुल्ला दिल प्रमाणित गरे, उनको हिमाली भेगमा तब ख्याति, उनप्रति आदर बढेको रहेछ ।

हिलारी अनि अन्य आरोहीका वृतान्त पढ्दै , फोटोमै, डायरीमै पनि सगरमाथा उक्लँदै, घुम्दै गएँ ।

बाटोमा जीउले थाम्न नसकी मरेका तर त्यो उचाइबाट ल्याउँन नसकिएका वरफले जमेका लाशहरु बाटोमा चिन्ह बनेर उभिइरहेका रहेछन् ।

अनि आरोहीहसँगै पुगेका फोहरहरु, मलमुत्रहरु ।

फेरी केही समय पछि नेपालका अग्रणी पर्यटन व्यवसायी अनि आरोही सोनाम शेर्पा पनि सातवटै उच्च हिमालहरुको आरोहण पूरा गर्ने पहिलो नेपाली बनेर सगरमाथा शिखरबाट फर्केका रहेछन् । फर्के लगत्तै एक लेख मार्फत उनी भन्छन् ः

“३० वर्षअघि सगरमाथा आरोहणका क्रममा धेरै दिन बिताएको सगरमाथा आधार शिविर अहिले लोप हुने अवस्थामा छ…

…खुम्बु हिमनदीका लागि अव्यवस्थित पाल, मानव मल र पिसाबबाट सबैभन्दा ठूलो खतरा छ ….

…वर्षौं देखि त्यहाँ दिसा र पिसाब थुप्रिएको छ । यो सगरमाथाको वातावरणका साथै त्यहाँबाट पग्लेर गएको दुधकोशीको पानी उपभोग गर्ने बासिन्दाका लागि ठूलो खतरा हो …।”

तर तल फेदीमा अनि देश भरिका जनता माझ पर्यटनको फाइदा पु¥याउन पाँच गुणा बढी पर्यटक ल्याउने उद्देश्य सरकारको छ । भलै काममा ढिलाई होस् ।

यससँगै शिखरको हिउँ, प्रकृति संरक्षण कसरी होला ? वा यसरी कतिसम्म टिक्ला ?

नेपालीले पर्यटक चाहिँदैन वा रोक्छु भन्न सकिने अवस्था छैन । तर वातावरण विनाशमा पिठ्यँु फर्काएर बस्ने समय पनि छैन । सबैले जहाँबाट जे हुन्छ, योगदान नदिइ नहुने अवस्था छ ।

त्यही मौका एकपल्ट गएँ, यात्रामा कैलाश पर्वत, अनि पश्चिम नेपालतिर । यसको केही चर्चा पनि गरौं ।

हिमाल जाने रहर, प्रतिपर्धा यहाँ नि हुने गर्छ । तर कति पल्ट हिमाल चढे हैन, कतिपल्ट परिक्रमा गरे भनेर । कैलाशको वरिपरि मन्त्र जप्दै आफ्नो अन्तर्मन निखार्दै लाखौं यात्रीहरुले रातदिन बाटाहरु, खोला, पहाड गुन्जिन्छन् । तर टुप्पोमा टेक्ने कसैको रहर भेटिदैन ।

हिमाल नजिक घर भएका हामी हिमालको दृश्यबारे जानकार छौं । हिउँ, वरफ छिचोल्दाको जोखिमसँग पनि जानकार छौं । त्यसैले हो कि हिमाल टुप्पो चढने नै रहर मलाई पनि कहिल्यै भएन । वा भनौ आँट आएन ।

कैलाश पर्वत आउने यात्रीले मात्रै पश्चिम तिब्बतको अर्थतन्त्रको ठूलो हिस्सा धानेको छ भन्दा फरक नपर्ला । तर पनि युगौंको यात्राका बाबजूद कैलाश अनि यस भेगका अन्य पर्वत श्रृंखला, ग्लाशियरहरु सेताम्य, कञ्चन अझै छन् । फेदीमा माटोमा जम्ने फोहोर केही माटोले लिन्छ, मल बन्छ, अनि सफा गर्न पनि मिल्छ । हिउँ, ग्लेसियरमा, उचाइमा जमेको फोहोर सायदै सफा गर्न मिल्ला ।

जोमोलोङमा, सगरमाथा लगायत हिउँ चुचुरोमा भने सन् १९५० यता युरोपेलीहरुको भूगोल माथिको मानवीय विजयको नयाँ चलन भित्रिएसँगै सुरुमा तिनको पथप्रदर्शक बनेका नपालीहरु अब त आफंै पनि खुलेर, ज्यानको बाजी राख्दै प्रतिपर्धामा छन् ।

टि. भी., अखबार सबै त्यही फेसनकै पछि छन् ।

तर केही दाम छ । नाम पनि छ क्यार ।

अनि त सत्तरी कटेको बुढा, हात खट्टा नभएको मान्छे , अन्धो , बहिरो, केटाकेटी, लोग्ने–स्वास्नी, अनेक रंगका, देशका सबै सगरमाथा टेक्न, नाम लेख्न मरिहत्ते छन् । अनि कैयनले ज्यान गुमाउँछन् पनि ।

नामको लागि, जो मान्छेले केहीबेरमा बिर्सिहाल्छन् पनि ।

तर पश्चिमाहरुमा पनि हिमाल माथिको यस्तो निर्ममताको सट्टा यात्राको अरु तरिकाको खोज नभएको हैन रहेछ ।

सन् १९७१ तिर हिमालका अग्लो चुचुराहरू चढ्ने होडबाजी चलिरहेको बेला तीन नर्वेजियन पर्वतारोहीहरु सिग्मन्ड क्वाले सेट्रेङ, निल्स फरलेन्ड, र अर्ने नेस लामो समयदेखि विश्वभरका पर्वतारोहीहरूको कल्पनामा, निशानामा रहेको पवित्र पर्वत छिरिङ्मा (गौरीशंकर) को आरोहण विरोधी अभियानमा निस्केका रहेछन् ।

हिमाल माथि मानव विजयको लक्ष्यको सट्टा, स्थानीय संस्कृतिसँग जोडिन, तिनको परम्पराको, प्रकृतिको सम्मान गर्न र त्यसरी पर्वतारोहणको वास्तविक सारलाई अँगाल्न तिनले खोजेका रहेछन् ।

उनीहरु परम्परागत नर्वेली सोंचबाट प्रेरित रहेछन्, जहाँ प्रकृति माथिको विजय भन्दा तिनको अन्वेषण, खोजलाई महत्व दिइने रहेछ, जुन नेपाली परम्परा भन्दा फरक थिएन । त्यो यात्राले उनीहरूको जीवन र हिमाललाई हेर्ने दृष्टिमा सदाका लागि परिवर्तन गरेको रहेछ ।

ती मध्ये आरोही, शिक्षाविद, दार्शनिक अर्ने नेस लेख्छन् ः

“…प्रतिस्पर्धामा तनाव छ । त्यहाँ उपलब्धिलाई पर्वतारोहीको आरोहणको संख्या र कठिनाइ वा ..र उचाइ जस्ता सतही कुराहरूद्वारा मापन गरिन्छ …सामान्यतया, हिमालमा सबैभन्दा सुन्दर वा उल्लेखनीय स्थानहरू हिमाली भित्ताको किनारमा फेला पार्न सकिन्छ, (भौगोलिक) शिखरमा होइन, जुन प्रायः एक रुखो ठाउँ मात्र हुन्छ । तै पनि, पर्वतारोहीहरू प्रायः कुहिरोमा शिखरमा हिंड्छन् वा कुहिरोमै सगरमाथामा पुग्छन्, केवल आरोहण पूरा गर्नका लागि…।”

छिरिङमा मुनि रहेको सानो बेदिङ गाउँमा उनीहरुलाई स्वागत गरिएछ । उनीहरुले पनि शेर्पाहरूबाट सिकेर, प्रकृतिसँगको सह–अस्तित्व अवलोकन गर्दै जाँदा हप्ता, महिना बितेछ । आरोहणको साँचो मर्म सगरमाथा शिखर टेक्नुमा नभई प्रकृति र स्थानीय समुदायसँगको सम्बन्ध गाँस्नमा रहेको उनीहरुको निचोड रहेछ ।

त्यसै क्रममा छिरिङमा नजीकको भव्य दृश्यमा स्थानीयहरुले जाने उचाइसम्म कम जोखिममा उनीहरु गएछन्, रमाएछन् पनि ।

उनीहरुले हिमाल आरोहणको विरोध नभई आरोहणको निष्ठा, पवित्र चुचुरोको पवित्रता र स्थानीय संस्कृतिको सम्मानको आह्वान गरेका रहेछन् । पर्वतारोहण भनेको आपसी सिकाइको यात्रा हुनुपर्छ भन्ने पनि रहेछ, जहाँ गन्तव्य समुदाय र आगन्तुकहरू दुवै लाभान्वित हुन्छन् । पछि फर्केर तिनले नर्वेमा वतावरण संरक्षण, शिक्षा, दर्शनमा ठुलो योगदान दिएका रहेछन् ।

सो अभियान अनि अन्तरराष्टिय दवाव पछि त्यो हिमाल मानव पाइला टेकिनबाट रोकिएछ पनि । सरकारी निर्णयबाटै ।

यद्यपी तिनीहरूको हिमाली कथा भने बिस्तारै सार्वजनिक स्मृतिबाट लोप भएको रहेछ ।

सन् २०१८ मा एक यस्तै भावुक यात्री र शिक्षाविद् तिनको खोजी गर्दै तिनको कथा, सोंच फेरी जनमानसमा ल्याउन खोज्दै क्यानाडा एक हिमाल सम्बन्धी गोष्ठीमा पुगेका रहेछन् । हिमाल चढेर हैन गहिरिएर यात्रा गर्नमा विश्वास गर्ने कैलाश क्षेत्र हुम्लाको म बबुरोको र उनको सन्जोगले भेट भो । छलफल कार्यक्रमका प्यानलमा उनी थिए, तर सन्जोगले भनौं नियतिले त्यो विषयको बाँकी सबै प्रस्तोता हिउँको आँधीले एरपोर्ट बन्द भइ आउन सकेनन् । उनी र एक्लो मेरो प्रस्तुति अनि चिनजान अनि छिरिङमा यात्राबारे जान्ने मौका पाइयो ।

लगत्तै समान विचारधाराका हामीले सन् १९७१ को आरोहीहरूको पाइलाहरू पछ्याउने योजना बनायौ । अनि हिमाली बौद्ध दर्शनविद, लेखक आदि पनि जुट्दै गए ।

कोभिड महामारीले भ्रमण ढिलै भए पनि, बेदिङ र ना समुदायसँग पुनः जोडिदै गाउँको विद्यालयलाई केही सहयोग पनि जुट्यो । समुदायबाट निम्तो पनि । अनि सन् १९७१ को ती गुमनाम बाटाहरु , सोंचहरु पछ्याउँदै नयाँ युगको नयाँ हिमाल यात्रामा हामीले पनि तयारी थाल्यौं ।

आउनुहोस्, निम्तो छ हजुरलाई पनि । प्रतिस्पर्धा, रेकर्ड, शिखर टेक्ने जोखिम, झमेला छोडेर हिमाल यात्राको यो नयाँ बाटोमा । वा भनौं आफ्नै पुख्र्यौली बाटोमा ।

हुम्ला जिल्लाका जिग्मे लामा (नर बहादुर) नेपालका विभिन्न क्षेत्रमा पच्चीस वर्षभन्दा बढी समय सामाजिक विकास कार्यहरुमा संलग्न रहँदै आउनु भएका एक ग्रामीण विकासविद, अनि बौद्ध ध्यानका अभ्यासकर्ता, अध्येता हुन् । नोमाडिक स्काई एक्सपिडिसन युकेसँग आवद्ध उनी नेपालमा पर्यटन व्यवसाय, वातावरण संरक्षणमा पनि संलग्न छन् ।

प्रतिक्रिया लेख्नुहोस्