नेपालमा कोरोना (कोभिड १९) को डेल्टा प्रजातिको नयाँ उत्परिवर्तन पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै परीक्षण गरिएका ४७ नमुनामा डेल्टा भेरिएन्ट पुष्टि भएको छ भने तीनवटामा डेल्टाकै नयाँ म्युटेन्ट पुुष्टि भएको जनाएको छ ।
पुष्टि भएका तीनवटा नयाँ डेल्टा म्युटेन्टको नाम एवाइवान राखिएको छ । मन्त्रालयका सह प्रवक्ता समीर अधिकारीले विज्ञप्ति जारी गर्दै जेठ मध्यदेखि असार मसान्तसम्म देशका विभिन्न भाग र उमेर समूहका व्यक्तिबाट संकलित नमुनाको परीक्षण गर्दा म्युटेन्ट पुष्टि भएको जनाएका छन् ।४७ कोरोना संक्रमितको नमुना भारतको नयाँ दिल्लीस्थित विश्व स्वास्थ्य संगठनको कार्यालयमा जिनोमिक पहिचानका लागि पठाइएकामा सबैमा कोरोनाको डेल्टा भेरियन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले असार ३० गते ती नमूनाहरु भारत पठाएको थियो । जिनोमिक पहिचान गरिएकामा ३ वटामा थप उत्परिवर्तन भेटिएको जनाइएको छ ।मन्त्रालयका अनुसार नेपालमा हालसम्म भेरियन्ट अफ कन्सर्नका रुपमा अल्फा र डेल्टा भेरियन्ट भेटिएको र भेरियन्ट अफ इन्ट्रेस्टका रुपमा कप्पा भेरियन्ट भेटिएको हो ।यी भेरियन्टहरु बढी संक्रामक हुने र सबै उमेर समूहकालाई असर पार्न सक्ने मन्त्रालयले जनाएको छ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको १२ हजार ६५५ पिसिआर परीक्षणमा २ हजार ७ सय २६ र ४ हजार ८ सय ६३ एन्टीजेन परीक्षणका १ हजार १ सय ७३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा संक्रमितको संख्या ७ लाख ४२ हजार ८१७ पुगेको छ ।त्यस्तै थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा ९ हजार ७ सय ५८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।थप १ हजार ७ सय ७८ जना निको भएका छन् । हालसम्म नेपालमा ६ लाख ४७ हजार ७९ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा २८ हजार ८३६ सक्रिय संक्रमित आइसोलेसन र ३५६ जना क्वारेन्टाइनमा छन् ।








प्रतिक्रिया लेख्नुहोस्