अफगानिस्तानका अधिकांश भुभाग नियन्त्रणमा लिएको तालिबानले राष्ट्रपति कार्यालय समेत कब्जामा लिएको जनाएको छ । हिजै अपराह्न राष्ट्रपति असरफ घानी आफ्ना सहयोगीसहित मुलुक छाडेर भागेपछि तालिबान लडाकूले राष्ट्रपति कार्यालय कब्जामा लिएको जनाएको हो ।
राष्ट्रपति भवनमा घानीकै उपस्थितिमा सत्ता हस्तान्तरण समारोह हुने सम्झौता भए पनि घानी देश छाडेर ताजिकिस्तानतर्फ भागेको जनाइएको छ । अब तालिबानले सोही भवनबाट अफगानिस्तानलाई ‘इस्लामिक एमिरेट अफ अफगानिस्तान’ घोषणा गर्दै शासन थाल्ने तालिबान प्रवक्तालाई उधृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
तालिबानले जनधनको क्षति नगर्न ‘शान्तिपूर्ण शक्ति हस्तान्तरणको आशामा’ शहर प्रवेश नगरी काबुलको प्रवेशद्वारमा रहे पनि शहरमा लुटपाट हुन नदिन लडाकुलाई शहर पस्न अनुमति दिएको थियो ।तालिबान प्रवक्ताले अफगानिस्तान र काबुलका बासिन्दालाई नडराउन भनेका छन् । विदेशी कूटनीतिक नियोगका कार्यालय र तिनका अधिकारीहरुमाथि पनि केही नगरिने भन्दै तालिबानले सुरक्षा सुनिश्चितता हुने बताएका छन् ।
देशमा रक्तपात नहोस भनेर देश छाडेँ- राष्ट्रपति घानी
अफगानिस्तानमा तालिबान काबुल प्रवेश गरेसँगै देश छोडेका अफघानी राष्ट्रपति असरफ घानीले देशमा रक्तपातपूर्ण अवस्था नआओस् भनेर आफूले देश छोडेको बताएका छन्।उनले तालिबानीसँगको रक्तपातपूर्ण युद्ध वा प्यारो देश छोड्नुपर्ने कठिन विकल्प आफ्नो सामु आएपछि देश छोडेको बताएका हुन्।
घानीले आफ्नो फेसबुकमा तालिबानले बन्दुक र हतियारले सत्ता कब्जा गरेको भन्दै अब देशवासीको सम्मान, सम्पत्ति तथा स्वाभिमानको रक्षाका लागि उनीहरु नै जिम्मेवार रहने बताए। उनले अब तालिबान अफगानिस्तानको नाम र सम्मान गर्ने वा अरु कुनै द्वन्द्वमा फेरि फस्ने ऐतिहासिक परीक्षाको घडीमा पुगेको उल्लेख गरेका छन्।राष्ट्रपति घानी उपराष्ट्रपति अमिरुल्लाह सालेहसहित ताजकिस्तान पुगेको बताइएको छ। उनकी पत्नी, सेना प्रमुख तथा राष्ट्रिय सुरक्षा सल्लाहकार भने उज्बेकिस्तानको राजधानी ताशकन्द पुगेको अल जजिराले उल्लेख गरेको छ।

राष्ट्रपति गनी कहाँ छन्
राष्ट्रपति घानी देश छोडेर उज्बेकिस्तानतर्फ गएको रोयटर्सले जनाएको छ । उनले विद्रोहीहरूले बलपूर्वक जितेको भन्दै अब अफगान जनताको इमान, सम्पत्ति तथा आत्मसम्मान रक्षा गर्ने जिम्मा पनि तिनैको भएको बताएका छन्। आइतवार अबेर तालिबानहरू राष्ट्रपति भवनभित्र रहेका तस्बिर सार्वजनिक भएका थिए।
अमेरिकी दूतावास सारियो
काबुललाई तालिबानले घेरेपछि अमेरिकाले आफ्नो दूतावास भवन छोड्दै काबुल अन्तर्राष्ट्रिय विमानस्थलको परिसरमा स्थानान्तरण गरेको छ।हेलिकप्टरबाट दूतावासका सबै कर्मचारी र झन्डालाई विमानस्थल परिसरमा सारिएको थियो। आफ्ना नागरिकको सुरक्षा गर्न विमानस्थल परिसरमा ४,००० अमेरिकी सैनिक परिचालन गरिएका छन्। अमेरिकी सञ्चारमाध्यमका अनुसार अफगानिस्तानमा १,४०० अमेरिकी कर्मचारी थिए।तीमध्ये सानो समूह मात्रै केही समयका लागि काबुलमा रहने र बाँकीलाई त्यहाँबाट निकालिने जनाइएको छ।







प्रतिक्रिया लेख्नुहोस्