२०८३ बैशाख २६, शनिबार

शिक्षा मन्त्री पौडेलले गरे आकस्मिक विद्यालय अनुगमन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल आकस्मिक विद्यालय अनुगमन गरेका छन् । बिहीबार दिउँसो कक्षा चलिरहेका बेला विद्यालयको शैक्षिक अवस्था जानकारी लिन त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयमा आकस्मिक अनुगमन गरेका हुन् ।

अनुगमनका क्रमममा मन्त्री पौडेलले भविष्यका कर्णधार बनाउने जिम्मा शिक्षकको काँधमा रहेको भन्दै गम्भीर भएर लाग्न निर्देशन दिएका छन् । कक्षा १ देखि १२ कक्षासम्म सञ्चालित विद्यालयमा ३ हजार ७ सय विद्यार्थी रहेका छन् ।

कक्षा सञ्चालन भइरहेका बेला मन्त्री पौडेलले प्रत्येक कक्षाकोठामा पुगेर अध्ययन गर्दै गर्दाका समस्या के–के छन् भन्दै विद्यार्थीलाई सोधेका थिए । ‘बुबाआमाको काखपछिको पाठशाला भनेको विद्यालय हो,’ उनले भने, ‘देशमा निर्माण गर्ने बालबालिकाको जीवनमाथि खेलबाड नहोस् ।’

उनले शिक्षक, तथा विद्यार्थीले थप परिश्रम गरि नमुना विद्यालयका रूपमा स्थापित गराउन आग्रह गर्दै मन्त्रालयले थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्रीमा नियुक्त भएलगत्तै सार्वजनिक शिक्षा सुधार गर्ने मन्त्रालयको लक्ष्य रहेको भन्दै उनले विद्यालयका शिक्षक, विद्यार्थीले गरेको भूमिका नमुना हुने विश्वास व्यक्त गरेका छन् ।

एमबीबीएस प्रवेश परीक्षामा सर्वोत्कृष्ट भएका सोही विद्यालयका आशिष झालाई मन्त्री पौडेलले फोन गरेर बधाई दिएका छन् । सार्वजनिक विद्यालयमा पढेका विद्यार्थीले राम्रो गर्न सक्छन् भन्ने उदाहरण तपाईंले दिनुभएको छ’ मन्त्री पौडेलले भने ‘शिक्षाको निम्ति आवश्यक पर्ने कुराहरुमा तपाईंलाई मन्त्रालयले सहयोग गर्छ ।’

प्रतिक्रिया लेख्नुहोस्