प्रधानमन्त्री शेरबहादुर देउवाले द्वन्द्वकालीन घटनाका पीडितहरुलाई चाँडै न्याय दिलाउने प्रतिवद्धता व्यक्त गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोग नेपालद्वारा शुक्रबार काठमाडौंमा आयोजित ७३ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले द्वन्द्वकालीन घटनाका पीडितलाई चाँडै न्याय दिलाउने बताएका हुन् ।
उनले नेपालमा मानव अधिकारसम्बन्धी धेरै अधिकार दिएको बताउँदै राम्रोसँग क्षतिपूर्ति दिएर भए पनि द्वन्द्वकालीन घटनाका पीडितहरुलाई न्याय दिलाउने प्रतिवद्धता व्यक्त गरे । प्रधानमन्त्री देउवाले नेपालले गरिरहेको कामको प्रशंसा सारा संसारले नै गरेको भन्दै मानवअधिकारसम्बन्धी आवश्यक काम गर्न सरकार तयार रहेको बताएका छन् । प्रधानमन्त्री देउवाले भने, ‘मानव अधिकारसम्बन्धी धेरै अधिकार हामीले दिएका छौँ ।
पछाडि परेका, महिला, दलित, जनजाति सबैलाई हामीले आरक्षण दिएका छौँ, अधिकार दिएका छौँ । मानव अधिकारसम्बन्धी धेरै कुराहरु नेपालमा भएको छ । जुन द्वन्द्व पीडितहरु, द्वन्द्वबाट जो मानिस दुःखी छन्, अहिलेसम्म पनि टीआरसी, सत्यनिरुपण लगायतका कुराहरुमा पनि हामीले अवश्य नै न्याय गर्नेछौँ । रामोसँग क्षतिपूर्ति दिएर भए पनि द्वन्द्व पीडितहरुको परिवार, सदस्यहरुलाई न्याय दिने प्रयास गरिरहेका छौँ ।
हाम्रो कामको संसारले नै तारिफ गरेको छ । नेपालमा यत्रो द्वन्द्वा भए आफैँ नेतृत्व गरेर वार्ता शुरु गरेर हामीले हिजो इन्सर्जेन्सीमा लागेका मित्रहरु आज मिनिस्ट्रीमा आएका छन् । सबैलाई हामीले आश्वस्त पार्नुपरेको छ । नेपाल आफैँले पनि धेरै कामहरु गर्नसक्छ भन्ने कुरा प्रमाणित भएको छ । केही कुरा छन् भने त्यसमा पनि हामी हेर्ने नै छौँ ।’







प्रतिक्रिया लेख्नुहोस्