माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले भेटवार्ता गरेका छन् । अध्यक्ष प्रचण्डलाई भेट्न नेता कोइराला बिहीबार बिहान खुमलटार पुगेका थिए ।
काँग्रेस नेता अमरेशकुमार सिंहसहित प्रचण्ड निवास खुमलटार पुगेका कोइराला र प्रचण्डबीच गठबन्धन, एमसीसी, संसद् खुलाउने लगायतका विषयमा छलफल भएको कोइरालाका स्वकीय सचिवले जानकारी दिएका छन् । प्रचण्डसँगको भेटमा कोइरालाले संसद्लाई बन्धक बनाउन नहुने धारणा राखेका थिए । ‘संसद्लाई बन्धक नबनाऊ, जे जे गर्ने हो संसद्बाटै छिनोफानो गरौँ’, कोइरालाले अध्यक्ष प्रचण्डलाई गरेको आग्रह उद्धृत गर्दै उनले भने, ‘जवाफमा प्रचण्डले गठबन्धनको कुरा गर्नुभयो ।’
प्रचण्डले स्थानीय चुनावमा गठबन्धन बनाएर जाऔँ भनेर गरेको प्रस्तावलाई कोइरालाले अस्वीकार गरेका थिए । ‘वडा वडामा गठबन्धन सम्भव छैन । केन्द्रबाट तोकेर एलाइन्समा चुनाव लड्ने कुरा म अन्तिमसम्म विरोध गर्छु, बरु चुनावपछि सहकार्य गर्न सकिन्छ’, प्रचण्डलाई कोइरालाको जवाफ थियो । यसअघि कोइरालाले मंगलबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि बालकोट पुगेर भेटेका थिए ।







प्रतिक्रिया लेख्नुहोस्