२०८३ बैशाख १५, मङ्लबार

सत्यमोहनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाइयो

राजकीय सम्मानसहित अन्तिम सलामी दिएर सत्यमोहनको शव किस्ट लगिने

प्रधानमन्त्री शेरबहादुर देउवाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । पुल्चोकस्थित ललितपुर महानगरपालिका प्राङ्गणमा राखिएको जोशीको पार्थिव शरीरमा उहाँले श्रद्धाञ्जलि अर्पण गरेका हुन ।

पुरातत्वविद् जोशीप्रति श्रद्धाञ्जलि अर्पण गर्न सभामुख अग्निप्रसाद सापकोटा, नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री जीवनराम श्रेष्ठ त्यहाँ पुगेका थिए ।

एक सय तीन वर्षको उमेरमा ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान उनको निधन भएको हो । उनको पार्थिव शरीर अन्त्येष्टि नगरी अध्ययनका लागि अस्पताललाई हस्तान्तरण गरिने परिवार स्रोतले जनाएको छ ।

उहाँको पार्थिक शरीर महानगरपालिका प्राङ्गणमा अपराह्न ४ बजेसम्म राखिनेछ । उनलाई राज्यकातर्फबाट ‘राष्ट्रिय सम्मान’ प्रदान गरिने गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए ।

को हुन् वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी?

पिता शङ्करराज जोशी र माता राजकुमारीका सुपुत्रका रूपमा विसं १९७७ वैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मिएका सत्यमोहन जोशीको आज २०७९ असोज ३० गते ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा निधन भएको छ । जोशीले विसं. २०१३ मा लोकसंस्कृति ग्रन्थमा मदन पुरस्कार प्राप्त गरेका थिए ।

दोस्रो पटक नेपाली राष्ट्रिय मुद्रा नामक ग्रन्थमा विसं २०१७ मा र ‘कर्णाली लोकसंस्कृति’ नामक ग्रन्थका लागि विसं २०२८ मा मदन पुरस्कार प्राप्त गर्नुभएका जोशी विसं २०१५ मा पुरातत्व र संस्कृति विभागका पहिलो निर्देशक भएका थियो ।

जोशीले विसं २०१६ मा पाँचौँ शताब्दीदेखि बीसौँ शताब्दीसम्मको मुद्राको विस्तृत विवरणसहितको ‘नेपाली मुद्रा’ नामक पुस्तक प्रकाशित गरेका थिए ।

नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, संस्कृतिको संरक्षण, सम्वद्र्धन र विकासमा लागि परेका हुनाले उनको योगदानको कदरस्वरूप जोशीलाई सुप्रबल गोर्खा दक्षिणबाहु विख्यात त्रिशक्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कार, काठमाडौँ विश्वविद्यालयले विद्यावारिधिको मानार्थ प्रमाणपत्र प्रदान गरेको छ । नेपाल सरकारले पनि उज्ज्वल कीर्तिमान राष्ट्रदीपले सम्मानित गरेको छ । तीन पटकसम्म ‘मदन पुरस्कार’ जित्न सफल जोशीका प्रबन्ध तथा अनुसन्धानात्मक कृति नेपालीमा १०, नाटक पाँच, काव्य दुई र कथा सङ्ग्रह पाँच तथा नेवारी भाषामा गरी करिब ५० कृति प्रकाशित छन् ।

शताब्दी पुरुष जोशीले जीवनभर साहित्य, कलासंस्कृति र रङ्गमञ्चमा गरेका योगदानका विविध आयाम समेटेर कवि तथा लेखक अनिल पौडेलद्वारा लिखित ‘जुरेली दर्शन’ पुस्तक प्रकाशनमा छ । यस कृतिमा उनको जीवनी, भाषा, साहित्य, लोकसंस्कृति अन्वेषणलगायतका विषय समेटिएका छन् ।

उनका संस्कृतिसम्बन्धी १० पुस्तक प्रकाशित छन् । उनले दुई काव्य, पाँच कथा सङ्ग्रह, १० नाटक र केही नेवारी भाषाका कृति लेखेका छन । समालोचकले उनले ५० पुस्तक प्रकाशित भएको जनाएका छन् । तीमध्ये उनका २० पुस्तकलाई महत्वपूर्ण पुस्तक मानिएको छ ।

जोशीको एक सय वर्षको जन्मोत्सवमा नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाले वाङ्मय शताब्दी पुरुष जोशीको तस्बीर अङ्कित चाँदीको सिक्का निस्काशन गरेको थियो । रु दुई हजार पाँच सयका २५ हजार थान, रु एक हजारका २५ हजार थान र रु एक सयका १० हजार थान सिक्कामा एकातिर जोशीको तस्बीर छ भने अर्कोतिर सगरमाथाको तस्बीर रहेको छ ।

काठमाडौँ विश्वविद्यालयबाट मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्राप्त गर्नुभएका वरिष्ठ साहित्यकार जोशीलाई विसं २०६९ मा ‘पद्मश्री साधना सम्मान पुरस्कार’ प्रदान गरिएको थियो । नेवारी परिवारमा जन्मिएका जोशीले १० वर्षसम्म नेपाली बोल्न जानेका थिएन ।

प्रतिक्रिया लेख्नुहोस्