२०८३ असार २१, आइतवार

आफू नेतृत्वको सरकार ढलेपछि ओली विचल्लित भएका छन्: माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टक्कर दिएपछि विचल्लित भएको टिप्पणी गरेका छन् ।विभिन्न पार्टी परित्याग गरी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका नेता, कार्यकर्तालाई स्वागत गर्दै उनले ओली नेतृत्वको सरकार ढालेर आफूले टक्कर दिएपछि अहिले विचल्लित भएको आरोप लगाएका हुन्।

अध्यक्ष नेपालले अध्यक्ष ओलीले झुटा आक्रोश र बदला पोखिरहेको बताएका छन् । उनले अरुलाई अपमान गरी आफूलाई सर्वश्रेष्ठ ठान्ने प्रवृत्ति हावी भएपछि विद्रोह गर्नुपरेको बताए । उनले भने, ‘केपी ओलीलाई कसैले ढाल्नै सक्दैन भन्ने लागेको थियो, ढाल्ने काम गर्‍यौं, टक्कर दिनै सक्दैन भन्ने लाग्यो, टक्कर दियौं । टक्कर दिएपछि अहिले देखिरहनुभएको छ, केपी ओली बहुलाएको, बर्बराएको, के के उत्पट्याङ कुरा गरिरहेका छन् । यो त संकलन गर्नुपर्छ । केके बोले अहिलेसम्म । झुटा, उनका कुराहरु भनेको आक्रोश, बदलाको भावना हो ।’ अध्यक्ष नेपालले आफ्नो पार्टीको सरकार बनेपछि ज्येष्ठ नागरिक भत्ता ५ हजार पुर्‍याउने बताएका छन्।

उनले आफ्नो सरकारले सुकुम्वासी समस्यालाई समाधान गर्दै गएको र ६० हजार परिवारलाई जग्गा बाँड्न काम गरेको बताए । उनले यो काम नेपालको इतिहासमा नै अहिलेसम्म कसैले नगरेको दाबी गरे । उनले पर्यटन क्षेत्रको खोजी गरी विकास गर्न आवश्यक रहेको बताए । अध्यक्ष नेपालले नेपालको आर्थिक स्तरोन्नतीको लागि विद्युत र पर्यटन क्षेत्रको बिस्तार गर्न जरुरी रहेको बताए । उनले नेपालको राजनीतिमा कम्युनिष्ट पार्टीहरुको लागि छिन्नभिन्न हुने र जोडिने कुरा सामान्य भएको जिकिर गरे ।

प्रतिक्रिया लेख्नुहोस्