प्रमुख सत्तारुढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पूर्वराष्ट्रपति विद्या भण्डारीलाई लिएर कठोर बन्दै गएका छन् । सोमबारदेखि ललितपुरको च्यासलमा सुरू भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधनका क्रममा अध्यक्ष ओलीले पूर्वराष्ट्रपतिको पक्षमा लाग्नेलाई कडा कारबाहीको चेतावनीसमेत दिएका छन् ।
उनले बैठकलाई सम्बोधनका क्रममा विद्या भण्डारीको पक्षमा लाग्नेहरूविरुद्ध आफू कठोर बन्न तयार रहेको चेतावनीसमेत दिएको बताइएको छ । उनले केही नेताहरूतिर इंगित गर्दै पूर्वराष्ट्रपति भण्डारीको प्रवक्ता बन्दै हिँडेकोसमेत टिप्पणी गरेका छन् । उनले त्यसरी पूर्वराष्ट्रपतिको प्रवक्ता बन्नेहरूलाई कडा कारबाहीको चेतावनीसमेत दिएको एक केन्द्रीय सदस्यले बताएका छन् ।
पूर्वराष्ट्रपति भण्डारीसँग आफूले आइतबार च्यासलमा करिब २ घण्टा लामो संवाद गरेको बताउँदै ओलीले त्यसबेला केही सुझाव पनि दिइसकेको उल्लेख गरे । आफूले दिएका सुझावबारेमा पूर्वराष्ट्रपतिले जवाफ दिइनसकेको पनि ओलीले बैठकमा बताएका छन् । आफूले दिएका सुझावबारे पूर्वराष्ट्रपतिले सोचेर उचित समयमा जवाफ दिने बताएको पनि ओलीले बैठकमा जानकारी दिएका छन् । पूर्वराष्ट्रपतिको भेटबारे कुरा गर्दै उनले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाए पनि पनि पार्टी कार्यालयमै आउँछु भनेपछि च्यासलमै भेटेको बताए ।
‘पूर्वराष्ट्रपति (विद्या भण्डारी) जीसँग हिजो मैले भेटेको छु । बालुवाटारमा बोलाएको थिएँ, पार्टी कार्यालयमै आउँछु भनेपछि त्यो ठूलो कुरा नभएकाले च्यासलमै बोलाएँ’, उनले भने, ‘पार्टी कार्यालय नदेखेको भनेपछि च्यासलमै भेटेको हुँ । उहाँ आफैंले भेटौँ भनेपछि संवाद गरेको छु ।’ उनले भण्डारीसँगको भेटपछि प्रतिक्रिया दिने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे र स्थायी कमिटी सदस्य कर्णबहादुर थापातिर लक्षित गर्दै केही नेता प्रवक्ता बनेको भन्दै रोष प्रकट गरे ।
‘कोही नेताहरू उहाँ (विद्या भण्डारी) को प्रवक्ता बनिरहनु भएको छ’, उनले भने, ‘त्यसरी प्रवक्ता बन्दै किन हिँड्न पर्यो ? आइतबारको वार्तामा मैले मेरोतर्फबाट सुझाव दिइसकेको छु । उहाँले मेरो सुझावलाई लिएर दिने निर्णयबारेमा जवाफ दिइसक्नु भएको छैन । उचित समयमा दिने कुरा भएको छ। ’ उनले बैठकमा आक्रोशित रुपमा प्रस्तुत हुँदै हिजो पुष्कमल दाहाल प्रचण्ड र माधव नेपालले चलाएको संघर्षभन्दा पनि ठूलो आक्रमण अहिले गर्न खोजिएको बताएका छन् ।







प्रतिक्रिया लेख्नुहोस्