मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार-२०८२’ का लागि उत्कृष्ट १० पुस्तकहरूको श्रेष्ठ-सूची सार्वजनिक गरेको छ। गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा जारी विज्ञप्तिअनुसार यस वर्ष प्राप्त कूल २९८ वटा पुस्तकहरूमध्येबाट यी १० उत्कृष्ट कृतिहरू छनौट गरिएको हो।
श्रेष्ठ-सूचीमा पर्न सफल कृतिहरूमा केशवराज ज्ञवालीको ‘अज्ञात’, केशव दाहालको ‘इथा’, ललित विष्टको ‘उत्कर्ष’, रोशनकुमार झाको ‘नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास’, र वीणा जोशी (राजभण्डारी) को ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ रहेका छन्।
त्यस्तै, उमा सुवेदीको ‘परिधि’, सीमा आभासको ‘महायुग’, श्रवण मुकारुङको ‘सलह’, डा. नवराज केसीको ‘स्वस्पर्श’, र नदीशको ‘हिउँद’ पनि यो सूचीमा समावेश छन्। यी १० मध्येबाट एक उत्कृष्ट कृतिलाई वर्ष २०८२ को प्रतिष्ठित मदन पुरस्कार अर्पण गरिने गुठीले जनाएको छ।
वि.सं. २०१२ सालमा स्थापित यस पुरस्कारको राशी २०७५ सालदेखि चार लाख रुपैयाँ रहँदै आएको छ। गुठीले २०७२ सालदेखि प्राप्त पुस्तकहरूमध्येबाट बढीमा १० वटा उत्कृष्ट कृतिहरूको सूची सार्वजनिक गर्ने परम्परा सुरु गरेको हो। नेपाली साहित्यको सबैभन्दा प्रतिष्ठित मानिने यस पुरस्कारको अन्तिम विजेताको घोषणा भने केही समयपछि गरिनेछ।







प्रतिक्रिया लेख्नुहोस्