२०८३ भदौ ९, मङ्लबार

पोखरा बसपार्क निर्माणको बाटो खुल्दै, ५६७ परिवारको अन्तिम विवरण टुंगियो

३२५ परिवार भूमिहीन र २४२ अव्यवस्थित बसोबासीको सूचीमा, अर्को सातादेखि स्थानान्तरण प्रक्रिया अघि बढाउने तयारी

पोखरा महानगरपालिका–९, पृथ्वीचोकस्थित प्रस्तावित सुविधासम्पन्न पोखरा बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको अन्तिम विवरण टुंगिएको छ। अन्तिम सूची तयार भएसँगै वर्षौंदेखि रोकिएको बसपार्क निर्माणको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।

दाबी–विरोध, संशोधन निवेदन र आवश्यक छानबिनपछि वडा तहको सहजीकरण समितिले तयार पारेको अन्तिम विवरणअनुसार ३२५ परिवार भूमिहीन तथा २४२ परिवार अव्यवस्थित बसोबासी कायम भएका छन्। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यका अनुसार अन्तिम सूचीमा १४४ परिवार भूमिहीन दलित र १८१ परिवार सुकुम्वासी छन्। यसरी भूमिहीनको कुल संख्या ३२५ पुगेको हो।

प्रारम्भिक रूपमा भूमिहीन दलितका २००, सुकुम्वासीका २४८ र अव्यवस्थित बसोबासीका ११६ निवेदन प्राप्त भएका थिए। दाबी–विरोध तथा संशोधनका लागि आएका निवेदनमाथि छानबिन र परीक्षण भएपछि अन्तिम सूचीमा परिवर्तन गरिएको महानगरले जनाएको छ।

महानगर प्रमुख आचार्यले वास्तविक भूमिहीन तथा सुकुम्वासी परिवारको कानुनबमोजिम व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाइने बताए। “वास्तविक भूमिहीन, भूमिहीन दलित र सुकुम्वासी परिवारको पहिचान गरी कानुनबमोजिम व्यवस्थापन गर्ने प्रक्रिया अब निर्णायक चरणमा पुगेको छ,” उनले भने।

अब महानगरपालिकाको कार्यपालिकाले प्रतिवेदनमाथि छलफल गरी यसै साता जिल्ला समितिमा सिफारिस पठाउने तयारी गरेको छ। त्यसपछि बसपार्क क्षेत्रमा वर्षौंदेखि बसोबास गर्दै आएका परिवारको व्यवस्थापन तथा स्थानान्तरण प्रक्रिया औपचारिक रूपमा अघि बढ्नेछ। प्रक्रिया समयमै सम्पन्न भएमा अर्को सातादेखि सुकुम्वासी बस्ती स्थानान्तरणको काम सुरु गर्ने महानगरको तयारी छ।

बसपार्क क्षेत्रमा बसोबास गर्दै आएकाहरूले पनि वास्तविक भूमिहीन तथा सुकुम्वासीको उचित व्यवस्थापन भए विकास निर्माणका लागि आफूहरू बाधक नबन्ने बताएका छन्। भूमिहीन सुकुम्वासी सरोकार समितिका संयोजक प्रेम गुरुङले बसपार्क निर्माणका लागि महानगरसँग सहकार्य गर्न तयार रहेको बताउँदै पहिले वैकल्पिक व्यवस्थापन हुनुपर्नेमा जोड दिए। “हामी विकासका लागि बाधक बन्न चाहँदैनौँ। बसपार्क बनाउन सहयोग गर्न तयार छौँ, तर यहाँ बसिरहेका वास्तविक सुकुम्वासीको वैकल्पिक व्यवस्थापन पहिला हुनुपर्छ,” उनले भने।

पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणका लागि २०३२ सालमै जग्गा अधिग्रहण गरिएको थियो। तर, योजना बनेको करिब पाँच दशक बितिसक्दा पनि बसपार्क निर्माण हुन सकेको छैन। बसपार्कका लागि छुट्याइएको जग्गामा सुकुम्वासी तथा अन्य व्यक्तिको बसोबास र अतिक्रमण भएपछि योजना अघि बढ्न सकेको थिएन। फलस्वरूप पृथ्वीचोक क्षेत्रको सडकपेटी र फुटपाथबाटै लामो तथा छोटो दूरीका बस सञ्चालन गर्नुपर्ने अवस्था रहँदै आएको छ।

पछिल्लो समय महानगरपालिकाले बसपार्क क्षेत्रभित्र रहेका व्यापारिक सटर तथा कवल हटाउने कामसमेत अघि बढाएको छ। जग्गा खाली भएपछि दातृनिकायको सहयोगमा आधुनिक र सुविधासम्पन्न बसपार्क निर्माण गर्ने योजना महानगरले अघि सारेको छ। अब ५६७ परिवारको अन्तिम विवरण टुंगिनु बसपार्क निर्माणको प्रक्रियामा महत्वपूर्ण मोड हुन सक्छ। वास्तविक भूमिहीनको व्यवस्थापन, स्थानान्तरण र बसपार्क निर्माणलाई सँगसँगै प्रभावकारी रूपमा अघि बढाउन सके पृथ्वीचोकले पाँच दशकदेखि पर्खिरहेको आधुनिक बसपार्कको सपना साकार हुने सम्भावना बढेको छ।

प्रतिक्रिया लेख्नुहोस्