लाङटाङ हिमालको एक भागमा गएको पहिरोका कारण चीनको केरुङनजिकै बनेको कृत्रिम ताल प्राकृतिक रूपमा बगेर पूर्ण रूपमा खाली भएको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ।
नेपालको छोछेन खोला र चीनको पुरेपु साङ्पो नदीको संगमस्थलनजिक पहिरोका कारण नदी थुनिएपछि उक्त ताल बनेको थियो। बिहीबार बिहानसम्म तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको अनुमान गरिएको थियो। चीनको जलस्रोत मन्त्रालयका अनुसार शनिबार बिहान पुरेपु साङ्पो नदीमा बनेको तालको सतहको क्षेत्रफल करिब ९९ हजार वर्गमिटर मापन गरिएको थियो। यसको क्षेत्रफल करिब १४ वटा फुटबल मैदान बराबर रहेको बताइएको थियो।
प्राकृतिक स्रोत मन्त्रालयको भूगर्भीय विपद् प्राविधिक मार्गदर्शन केन्द्रका वरिष्ठ इन्जिनियर चेन होङछीका अनुसार यसअघि तालको क्षेत्रफल एक लाख २० हजार वर्गमिटरभन्दा बढी रहेको अनुमान गरिएको थियो। तर, यसको वास्तविक गहिराइ भने यकिन हुन सकेको थिएन। भूउपग्रहबाट प्राप्त पछिल्ला तस्बिरमा पनि बिहीबारको तुलनामा तालको आकार घट्दै गएको देखिएको चिनियाँ अधिकारीहरूले बताएका छन्।
हिमनदीको भग्नावशेषबाट बनेको ताल फुट्न सक्ने भन्दै यसअघि चिनियाँ तथा नेपाली अधिकारी र विज्ञहरूले उच्च सतर्कता अपनाउन आग्रह गरेका थिए। ताल फुटेको अवस्थामा तल्लो तटीय क्षेत्रमा जारी खोज तथा उद्धार कार्यसमेत प्रभावित हुन सक्ने जोखिम थियो। तर, ताल प्राकृतिक रूपमा बगेर पूर्ण रूपमा खाली भएपछि तत्कालका लागि उक्त जोखिम कम भएको चिनियाँ अधिकारीहरूले जनाएका छन्।
बुधबार हिमनदीमा गएको पहिरोले चट्टान, हिउँ, लेदो तथा अन्य भग्नावशेषसहितको ठूलो परिमाणको पानी हिमाली नदी प्रणालीमा बगाएको थियो। त्यसपछि नेपाल–चीन सीमा क्षेत्र हुँदै भोटेकोशीमा विनाशकारी बाढी आएको थियो। बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायतका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। नेपालमा बाढीका कारण ७०० भन्दा बढीको मृत्यु भइसकेको छ भने हजारौँ नागरिक अझै सम्पर्कविहीन रहेका छन्।







प्रतिक्रिया लेख्नुहोस्