नुवाकोटको बेत्रावतीमा भदौ १० गते आएको विनाशकारी बाढीमा सम्पर्कविहीन भएकी एक महिलाको ११ दिनपछि घरबाटै जीवितै उद्धार गरिएको छ।
विदुर नगरपालिका–१०, बेत्रावतीस्थित आनन्द श्रेष्ठको घरको चौथो तलाबाट ६४ वर्षीया चण्डिका श्रेष्ठलाई सशस्त्र प्रहरीको टोलीले जीवितै उद्धार गरेको हो। बाढी र लेदोले घर पुरिएपछि उनी त्यहीँ फसेकी थिइन्।
सशस्त्र प्रहरी बल १९ नम्बर गुल्मबाट प्रहरी निरीक्षक सुमन विकको नेतृत्वमा खटिएको टोली प्रभावित घरमा रहेका सामान हटाउँदै गर्दा महिलाको आवाज सुनेपछि उद्धार अभियान अघि बढाएको थियो। हिलोमा गाडिएको अवस्थामा रहेकी श्रेष्ठलाई टोलीले सकुशल बाहिर निकालेको हो।
उद्धारपछि उनलाई तत्काल हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो। हाल नेपाली सेनाको छाउनीस्थित अस्पतालमा चिकित्सकीय निगरानीमा उपचार भइरहेको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिएका छन्।
श्रेष्ठलाई सुगर, उच्च रक्तचाप र मुटुसम्बन्धी समस्या रहेको बताइएको छ। चिकित्सकका अनुसार हाल उनमा शरीरको तापक्रम असामान्य रूपमा बढ्ने हाइपरथरमियाको लक्षण देखिएको छ।
भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीपछि ठूलो संख्यामा मानिस सम्पर्कविहीन रहेका बेला ११ दिनपछि घरभित्रैबाट जीवित उद्धार हुनुले खोज तथा उद्धार अभियानमा आशा थपेको छ। प्रभावित क्षेत्रमा अझै पनि बेपत्ता व्यक्तिको खोजी तथा उद्धार कार्य जारी छ।







प्रतिक्रिया लेख्नुहोस्