२०८३ अशोज २१, बुधबार

कांग्रेस महाधिवेशनमा बिहान १० बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले भोट हाल्ने

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान हुने भएको छ। यसअघि बिहान ७ बजेदेखि मतदान गर्ने तालिका रहे पनि वर्षा र केही प्राविधिक कारणले समय सारिएको केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले जानकारी दिएका छन्।

मतदानका लागि काठमाडौंका तीन स्थानमा सात मतदान केन्द्र तोकिएका छन्। राष्ट्रिय सभागृहमा बागमतीका प्रतिनिधि, खुलामञ्चमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिमका प्रतिनिधिसहित भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिका प्रतिनिधि तथा प्रज्ञा भवनमा गण्डकी र लुम्बिनीका प्रतिनिधिले मतदान गर्नेछन्। मतदानअघि प्रतिनिधिको परिचयपत्र र मतदाता नामावली रुजु गरिनेछ। महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले नयाँ नेतृत्व चयनका लागि मतदान गर्नेछन्।

यसैबीच, कांग्रेसको बन्द सत्र सकिएको छ। बन्द सत्रले सभापति गगन थापाको राजनीतिक प्रतिवेदन, महामन्त्री गुरुराज घिमिरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदन पारित गरेको छ। महामन्त्री प्रदीप पौडेलले प्रस्तुत गरेको विधानसम्बन्धी प्रस्ताव यसअघि नै पारित भइसकेको थियो। बन्द सत्र सकिएसँगै कांग्रेस महाधिवेशन अब नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रियामा केन्द्रित भएको छ।

प्रतिक्रिया लेख्नुहोस्