जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले बूढीगण्डकीमा आइतबार आएको बाढीको कारण हिमपहिरो भएको बताएको छ।
केन्द्रले बूढीगण्डकी बाढी सम्बन्धी स्थिति प्रतिवेदन सार्वजनिक गर्दै १० अक्टोबरमा माथिल्लो भागमा हिमपात भएको छ र सोही भागबाट ठूलो हिमपहिरो वा चट्टानी पहिरो सुरु भएको देखिएको बताएको छ। केन्द्रको भौगोलिक तथा भौगर्भिक विश्लेषणका अनुसार बाढीको उद्गम स्थलमा ६ अक्टोबरको स्याटेलाइट तस्बिरमा कालो रेखाभित्रको माथिल्लो भागमा हल्का हिउँ र पट्टानी ढलान मात्र देखिएको थियो।
‘१० अक्टोबरको तस्बिरमा माथिल्लो भागमा व्यापक नयाँ हिमपात भएको छ र सोही उच्च भागबाट ठूलो हिमपहिरो वा चट्टानी पहिरो सुरु भएको देखिन्छ,’ केन्द्रले भनेको छ, ‘गेग्रान बहावको बाटो १० अक्टोबरको तस्बिरमा माथिल्लो हिमशिखरबाट एउटा गाढा कालो रेखा सुरु भएर ठाडो खोँच हुँदै तलतिर तीव्र गतिमा बगेको देखिन्छ।’
यसले भीषण हिमपहिरो वा लेदो पहिरोले बाटोका बनस्पति र माटो बढारेर लगेको संकेत गरेको केन्द्रको विश्लेषण छ। बहाव र थुप्रिने प्रक्रिया तीव्र हुँदै बगेको उक्त लेदो चुम्लिङ र रिप्चेत नजिकै रहेको मुख्य नदीको दोभानमा पुगेर थुप्रिएको केन्द्रको भनाइ छ।
‘तल्लो उपत्यकामा बनेको गेग्रानको थुप्रोले केही समयका लागि नदीको प्राकृतिक बहावमा बाधा पुर्याएको छ,’ केन्द्रले भनेको छ, ‘यसले थामेको सम्भावनालाई समेत संकेत गर्छ।’







प्रतिक्रिया लेख्नुहोस्