आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत ओमानमा भइरहेको शृङ्खलाको आफ्नो तेस्रो खेलमा नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्दैछ। ओमान क्रिकेट एकेडेमी टर्फ १ मा सवा ११ बजेदेखि सुरु हुने खेलमा टस हारेर पहिला बलिङको निम्तो पाएको हो।
नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ। सन्दीप जोराको स्थानमा गुल्शन झा टोलीमा फर्किएका छन्।
जारी शृङ्खलामा नेपालले यसअघि क्यानडा र ओमान दुवैलाई हराइसकेको छ। क्यानडाले सुरुवाती दुई खेलमा ओमान र नेपालसँग हार बेहोरेपछि बिहीबार ओमानलाई पराजित गरेको थियो।
लिग २ अंकतालिकामा नेपाल ३४ खेलबाट २८ अंकसहित छैटौं स्थानमा छ भने क्यानडा ३५ खेलबाट २७ अंकसहित सातौंमा छ।
आजको खेलमा नेपालले क्यानडालाई पराजित गरे नेपाल छैटौं हुने पक्का हुनेछ। यदि नेपाल पराजित भएमा क्यानडा छैटौंमा उक्लनेछ र नेपालले अन्तिम खेलमा ओमानलाई हराउनुपर्नेछ।







प्रतिक्रिया लेख्नुहोस्