नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा प्राप्त गरेको बिलका आधारमा १० लाख रुपैयाँको बम्पर उपहार जितेकी छन्।
आन्तरिक राजस्व विभागले सञ्चालन गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत तामाङ बम्पर उपहारका लागि छनोट भएकी हुन्। उनले दसैँका अवसरमा नुवाकोटस्थित एसएस फेन्सी हाउसबाट सामान खरिद गरेकी थिइन्। उक्त खरिदको बिल नम्बरबाट प्राप्त कुपन नम्बर ०८१६३२५१५८४९ गोलाप्रथाबाट छनोट भएको हो।
काठमाडौंको विशाल बजारमा आयोजित कार्यक्रममा कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले कम्प्युटर प्रणालीमार्फत बम्पर तथा दैनिक उपहारका विजेता घोषणा गरेका थिए। विजेता घोषणा भएपछि कलाकारद्वयले तामाङलाई फोन गरेर १० लाख रुपैयाँ जितेको जानकारी दिएका थिए।
विभागका अनुसार बम्पर उपहारबाहेक असोज १६ देखि ३१ गतेसम्मका लागि १६ जना दैनिक विजेतासमेत छनोट भएका छन्। प्रत्येक दिन एक जनाका दरले छनोट भएका उनीहरूले जनही एक लाख रुपैयाँ प्राप्त गर्नेछन्। दैनिक उपहारको घोषित राशि एक लाख ३३ हजार ३३४ रुपैयाँ भए पनि कर कट्टीपछि विजेताको खातामा एक लाख रुपैयाँ जम्मा हुनेछ।







प्रतिक्रिया लेख्नुहोस्