नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीभन्दा पहिले देशलाई प्राथमिकता दिने सिद्धान्त र मनोविज्ञानका साथ अघि बढ्न पार्टीका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई आग्रह गरेका छन् ।
बिहीबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित शपथग्रहण समारोहलाई सम्बोधन गर्दै शर्माले कांग्रेसको नेतृत्व र जिम्मेवारी सम्हाल्दा ‘कांग्रेसभन्दा पहिले देश’ भन्ने भावनालाई केन्द्रमा राख्नुपर्ने बताएका हुन् ।
उनले आधुनिक, परिवर्तित र बलियो कांग्रेस निर्माण गर्दै समुन्नत नेपालको यात्रामा अघि बढ्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख गरे । पार्टीलाई संस्थागत र व्यवस्थित ढंगले सञ्चालन गर्न नवनिर्वाचित केन्द्रीय कार्यसमितिका सबै सदस्यले आ–आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने उनको भनाइ थियो ।
शर्माले सभापति गगन थापाले तयार गर्ने कार्ययोजनाअनुसार तोकिएको भूगोल र जिम्मेवारीमा रहेर काम गर्न तथा निर्धारित समयमै केन्द्रीय कार्यालयमा प्रतिवेदन बुझाउन पनि आग्रह गरे ।
उनले पार्टीका नेतामाथि उठ्ने आलोचना र प्रश्नलाई सकारात्मक रूपमा ग्रहण गर्नुपर्नेमा जोड दिए । गलत आरोप वा विषयको खण्डन गर्दा पनि स्वस्थ र विधिसम्मत प्रक्रिया अपनाउनुपर्ने उनले बताए ।
देशले सामना गरिरहेका परिवर्तनका चुनौतीसँग जुध्न नवनिर्वाचित केन्द्रीय कार्यसमितिले सरकारसँग प्रभावकारी समन्वय र सहकार्य गर्नुपर्ने शर्माको भनाइ थियो ।
सभापति गगन थापाको नेतृत्वमा पार्टीलाई संस्थागत, व्यवस्थित र प्रभावकारी बनाउँदै सामूहिक भावनाका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै उनले नयाँ नेतृत्वलाई जिम्मेवारीअनुसार काम गर्न आग्रह गरे ।
कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिले पद तथा गोपनीयताको शपथ लिएसँगै पार्टीलाई थप सुदृढ बनाउने र देशको समृद्धिका लागि काम गर्ने जिम्मेवारीसमेत पाएको छ ।







प्रतिक्रिया लेख्नुहोस्