२०८३ मंसिर ४, बिहिबार

असोजमै भित्रियो रेमिट्यान्सको बाढी, तोडियो अहिलेसम्मकै रेकर्ड

चालु आर्थिक वर्ष २०८३/८४ को तेस्रो महिना असोजमा नेपालमा २ खर्ब ६७ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ।

एकै महिनामा भित्रिएको यो रकम हालसम्मकै उच्च रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीले पठाएको रकम बढ्दै जाँदा रेमिट्यान्स आप्रवाहले नयाँ कीर्तिमान कायम गरेको हो।

मासिक रेमिट्यान्स आप्रवाह यसअघिको उच्च गत वैशाखमा २ खर्ब ५७ अर्ब भित्रिएको थियो । चालु आव असोजमा चाडबाड तथा रसुवा बाढीका कारण पनि रेमिट्यान्स आप्रवाह बढेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आव २०८३/८४ को तीन महिनामा रेमिट्यान्स आप्रवाह २७.२ प्रतिशत वृद्धि भई ७ खर्ब ३ अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा विप्रेषण आप्रवाह ३५.४ प्रतिशत बढेको थियो ।

२०८३ असोजमा रेमिट्यान्स आप्रवाह २ खर्ब ६७ अर्ब ३४ करोड छ । भदौमा २ खर्ब २१ अर्ब भित्रिएको थियो । चालु आव असोजमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १६.७ प्रतिशत वृद्धि भई ४ अर्ब ६० करोड पुगेको छ ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्स्फर) ७ खर्ब ६२ अर्ब ९० करोड पुगेको छ । चालु आव असोजमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख २१ हजार ८ सय ७९ र पुन: श्रम स्वीकृति लिनेको संख्या ८२ हजार ३ सय ६९ छ ।

अघिल्लो वर्ष सोही अवधिमा यस्तो संख्या क्रमश: १ लाख २३ हजार ४ सय ५९ र ७७ हजार २ सय ५७ थियो ।

प्रतिक्रिया लेख्नुहोस्