कुमारी बैंक लिमिटेडले नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि एन–ट्यागको बिक्री तथा वितरण सेवा आफ्ना शाखाहरूमार्फत सुरु गरेको छ। एन–ट्याग विद्युतीय टोल भुक्तानी प्रणाली हो। यस प्रणालीमार्फत सवारीधनीले टोल बुथमा नरोकिई छिटो, सहज तथा नगदरहित रूपमा टोल शुल्क भुक्तानी गर्न सक्नेछन्।
सवारीसाधनमा एन–ट्यागको स्टिकर टाँसेपछि सुरुङमार्ग प्रयोग गर्दा लाग्ने टोल शुल्क सम्बन्धित प्रणालीबाट स्वचालित रूपमा कट्टा हुनेछ। यसले टोल बुथमा हुने भीडभाड तथा लामो लाइनको झन्झट कम गर्नुका साथै यात्राको समय बचत गर्ने बैंकले जनाएको छ।
एन–ट्याग प्राप्त गर्न ग्राहकले सवारीसाधनको ब्लुबुक, नागरिकता वा राष्ट्रिय परिचयपत्र, पासपोर्ट साइजको फोटो र मोबाइल नम्बरसहित नजिकैको कुमारी बैंक शाखामा सम्पर्क गर्न सक्नेछन्। त्यस्तै, एन–ट्यागसम्बन्धी थप जानकारी बैंकको वेबसाइटबाट प्राप्त गर्न सकिनेछ। ग्राहकले वेबसाइटमार्फत नै अनलाइन दर्ता प्रक्रिया पनि पूरा गर्न सक्ने बैंकले जनाएको छ।
डिजिटल भुक्तानी तथा आधुनिक बैंकिङ सेवाको विस्तारलाई प्राथमिकता दिँदै आएको बैंकले एन–ट्याग सेवाले सवारीधनीको यात्रा थप सहज, छरितो र समयमैत्री बनाउने विश्वास व्यक्त गरेको छ। बैंकले सुरुङमार्ग प्रयोग गर्ने सम्पूर्ण सवारीधनीलाई एन–ट्याग सेवा लिन आग्रह गरेको छ।








प्रतिक्रिया लेख्नुहोस्