२०८३ मंसिर ८, सोमवार

नेपाल र भारतबीच आठ विषयमा द्विपक्षीय समझदारी

नेपाल र भारतबीच विभिन्न आठ विषयमा द्विपक्षीय समझदारी भएको छ। नेपालका प्रधानमन्त्री बालेन शाहको भ्रमणको दोस्रो दिन सोमबार दुई देशबीच भएको उच्चस्तरीय भेटवार्तापछि ती समझदारीपत्रमा हस्ताक्षर भएको हो।

समझदारीअनुसार नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग र भारतको गुजरातस्थित गान्धीनगरमा रहेको राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय (नेसनल फरेन्सिक साइन्सेज युनिभर्सिटी) बीच शैक्षिक तथा अनुसन्धान सहकार्य हुने भएको छ। यसैगरी सुरक्षा तथा प्रहरी प्रतिष्ठानबीच सहकार्य गर्ने उद्देश्यले नेपालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एनपीए) र भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय (आरआरयू) बीच पनि समझदारीपत्रमा हस्ताक्षर भएको छ।

नेपालका निजामती कर्मचारीहरूको क्षमता अभिवृद्धि तालिम कार्यक्रम सञ्चालनका लागि नेपालको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान र भारत सरकारको प्रशासनिक सुधार तथा सार्वजनिक गुनासो विभागअन्तर्गतको राष्ट्रिय सुशासन केन्द्रबीच समझदारी भएको छ ।

यस्तै दक्षिण एसिया स्याटेलाइटको उपयोगका लागि स्याटेलाइट सञ्चार (स्याटकम) नेटवर्क स्थापना गर्ने विषयमा नेपालको सूचना तथा सञ्चार मन्त्रालय र भारतको भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) बीच सहमति जुटेको छ । स्वास्थ्य तथा चिकित्साको क्षेत्रमा सहकार्य गर्न नेपाल सरकारको स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय र भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।

यस्तै आयुर्वेद र अन्य परम्परागत चिकित्सा प्रणाली, दिगो शहरी विकासको क्षेत्रमा प्राविधिक सहकार्य समझदारी भएको छ। यस्तै तथा पशुपालन र मत्स्यपालन विकासको क्षेत्रमा सहकार्य गर्न नेपाल र भारत सरकारबीच छुट्टाछुट्टै समझदारी भएको छ।

हेर्नुहोस् आठ समझदारीको सूची-

प्रतिक्रिया लेख्नुहोस्