सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ११ सिस्नेपातालमा दुई जना बालिका घरमै मृत अवस्थामा भेटिएका छन्।
टेकमान राना र पूर्णिमा रानाका तीन वर्षकी र ६ महिनाकी छोरीहरू आफ्नै घरमा मृत भेटिएका बनगाड कुपिण्डे–११ का वडाध्यक्ष वीरबहादुर बुढामगरले जानकारी दिनुभयो। बिहान १० बजेतिर छिमेकीले दुई जना बालिकाको शव घरभित्रै रहेको खबर गरेपछि प्रहरी पुगेको थियो।
पूर्णिमाले आफैंले छोरीहरूको हत्या गरेको बताएको प्रहरीलाई उद्धृत गर्दै वडाध्यक्ष बुढामगरले बताउनुभएको छ। पूर्णिमाले गला थिचेर हत्या गरेको बताएकी छिन्। तर शव हेर्दा झुन्डिएको जस्तो देखिने वडाध्यक्ष बुढामगरको भनाइ छ। मानसिक रूपमा ठीकठाक रहेकी महिलाले दुवै छोरीको हत्या किन गरिन् भन्ने खुलेको छैन।
प्रहरीले आमा पूर्णिमालाई पक्राउ गरेको छ भने बालिकाको शव पोस्टमार्टमका लागि अस्पताल लैजाने तयारी गरेको छ। मृतक बालिकाका बुबा रोजगारीका लागि नुवाकोटमा रहेका पनि वडाध्यक्ष बुढामगरले जानकारी दिनुभएको छ।







प्रतिक्रिया लेख्नुहोस्