आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएका ५३८ वटा सवारीसाधन नेपाल सरकारले विभिन्न निकायमा वितरण गरेको छ। गृह मन्त्रालयका अनुसार सबै सवारीसाधन नेपाल आइपुगेका छन् र निर्वाचन प्रयोजनका लागि प्रयोगमा ल्याइएको छ।
गृह मन्त्रालयका प्रवक्ताका अनुसार प्राप्त सवारीसाधनमध्ये ८७ वटा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोग लाई उपलब्ध गराइएको छ। त्यस्तै २९८ वटा सवारीसाधन सुरक्षा निकायहरूलाई प्रदान गरिएको छ।
सुरक्षा निकायअन्तर्गत नेपाल प्रहरी लाई १९५ वटा गाडी उपलब्ध गराइएको छ। प्रहरी प्रवक्ताका अनुसार ती सवारीसाधन काठमाडौं उपत्यका तथा बाहिरी जिल्लाका इकाइहरूमा पठाइने छन्। सशस्त्र प्रहरी बल लाई ९३ वटा तथा राष्ट्रिय अनुसन्धान विभाग लाई १० वटा गाडी प्रदान गरिएको छ।
यसका अतिरिक्त गृह मन्त्रालयले इलाका प्रशासन कार्यालय, कारागार कार्यालय तथा जिल्ला प्रशासन कार्यालयहरूमा समेत सवारीसाधन वितरण गरेको जनाएको छ। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सवारीसाधनमा क्षति पुगेका जिल्ला प्रशासन कार्यालयहरूलाई प्राथमिकताका साथ बढी सङ्ख्यामा गाडी उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ। प्रदर्शनको असर नपरेका प्रशासन कार्यालयहरूलाई पनि आवश्यकताअनुसार सवारीसाधन दिइएको छ।
भारतबाट प्राप्त सवारीसाधनमा बोलेरो जिप, स्कोर्पियो र स्कोर्पियो पिकअप रहेका छन्। ती सबै सवारीसाधन निर्वाचन अवधिभर सुरक्षाको व्यवस्था र प्रशासनिक कामकाजमा प्रयोग गरिनेछ।







प्रतिक्रिया लेख्नुहोस्