प्रतिनिधिसभा बैठकले बजेटसम्बन्धी तीन अध्यादेश स्वीकृत गरेको छ । पूर्ववर्ती सरकारका पालामा जारी गरिएका आर्थिक अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश र विनियोजन अध्यादेश प्रतिपक्षी अवरोधका बीच संसदमा बहुमतले स्वीकृत गरेको हो ।
प्रतिपक्षी नेकपा (एमाले) का सांसदहरूले गरिरहेको अवरोधबीच अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले तीनवटै अध्यादेश स्वीकृति निम्ति पेश गरेका थिए । तीनवटै अध्यादेश बहुमतबाट स्वीकृत भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरेका छन् ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले तीनवटै अध्यादेश अस्वीकृत गरियोस् भनी प्रस्ताव राखेका थिए । सुवालको प्रस्तावलाई बहुमतले अस्वीकृत गर्दै अर्थमन्त्रीका प्रस्ताव स्वीकृत भएको सभामुखले घोषणा गरेका हुन् ।







प्रतिक्रिया लेख्नुहोस्