२०८२ फाल्गुन ७, बिहिबार

माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा पेसीमा तोकियो

पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपाका सह-संयोजक माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दा सुनुवाइका लागि विशेष अदालतमा पेसी तोकिएको छ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीशहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासमा उक्त मुद्दा सुनुवाइका लागि तोकिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ २२ गते पतञ्जलि जग्गा प्रकरणमा नेपालसहित ९३ जनालाई प्रतिवादी बनाउँदै विशेष अदालत मा मुद्दा दायर गरेको थियो। आयोगले नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी सोही बराबर जरिवाना तथा सजाय मागदाबी गरेको छ।

अभियोगपत्रअनुसार तत्कालीन प्रधानमन्त्रीको हैसियतमा नेपालले पदको दुरुपयोग गर्दै सरकारी तथा सार्वजनिक सम्पत्ति व्यक्तिगत र संस्थागत स्वार्थमा हस्तान्तरण गराएको तथा भ्रष्टाचारजन्य कार्यमा संलग्न भएको आरोप लगाइएको छ।

आयोगले नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी सोही बराबर जरिवाना तथा सजाय मागदाबी गरेको छ।

नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले २०६६ फागुन ६ गतेको बैठकबाट पतञ्जलिलाई कानुनी हदबन्दीभन्दा बढी जग्गा कारोबारको स्वीकृति दिएको अभियोग छ। त्यस्तै २०६६ माघ १८ गते ठाडो आदेशमार्फत हदबन्दीभन्दा बढी जग्गा बिक्री तथा सट्टापट्टा गर्न अनुमति दिएको आरोप पनि लगाइएको छ।

अभियोजन पक्षका अनुसार ३१४ रोपनी १५ आना २ पैसा १ दाम जग्गा गैरकानुनी रूपमा बिक्री तथा हिनामिना गरिएको दाबी गरिएको छ। उक्त प्रकरणमा कुल १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो माग गर्दै ९३ जनाविरुद्ध मुद्दा दायर गरिएको हो।

मुद्दाको सुनुवाइपछि अदालतले आरोप पुष्टि हुने वा नहुने विषयमा फैसला गर्नेछ।

प्रतिक्रिया लेख्नुहोस्