२०८३ अशोज ९, शुक्रबार

बाढी–पहिरोको पूर्वतयारीमा सशस्त्र, ११ हजार बढी जनशक्ति परिचालन

बाढी, पहिरो तथा डुबानबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण तथा खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालले देशभर ६५० जोखिमयुक्त स्थानमा ११ हजार ७ सयभन्दा बढी जनशक्ति परिचालन गरेको छ ।

मनसुनजन्य विपद्को जोखिमलाई ध्यानमा राख्दै सशस्त्र प्रहरीले थप जनशक्ति तथा उद्धार सामग्रीसहित पूर्वतयारी योजना कार्यान्वयनमा ल्याएको जनाएको छ । विपद् व्यवस्थापन तालिमप्राप्त २ हजार ६० जनासहित १३३ गोताखोर र २२४ जना डोरी उद्धार तथा उच्च भूभाग खोज तथा उद्धारमा तालिमप्राप्त जनशक्ति परिचालन गरिएको छ ।

डुबानमा परेकाको उद्धारका लागि १०३ वटा र्‍याफ्ट बोट र ५८ वटा मोटरबोट तयारी अवस्थामा राखिएको छ। खोज तथा उद्धारलाई प्रभावकारी बनाउन ३० वटा तालिमप्राप्त कुकुरसहितका टोली र पाँचवटा विशेष ड्रोनसमेत तयारी अवस्थामा राखिएको छ ।

सडक अवरोध हटाउन तथा ठूला उद्धारका लागि जोखिमयुक्त नदी करिडोर र प्रदेशस्थित बाहिनी मुख्यालयमा ह्विल लोडर, क्रेन र एक्साभेटरलगायत उपकरण तयारी अवस्थामा राखिएको छ । सुनकोशी, सप्तकोशी, भोटेकोशी, त्रिशूली, नारायणी, बागमती तथा विष्णुमती, बल्खु, मनोहरा, हनुमन्ते र नख्खुलगायत नदी तथा खोलामा आवश्यक उद्धार सामग्रीसहित जनशक्ति तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ ।

गण्डकी र लुम्बिनी प्रदेशमा थप १०/१० वटा र्‍याफ्ट बोट तयारी अवस्थामा राख्ने योजना पनि बनाइएको छ। मौसमको पूर्वानुमान र आवश्यकताअनुसार थप जनशक्ति परिचालन गर्ने व्यवस्था मिलाइएको छ ।

सशस्त्र प्रहरीले असोज ९ देखि ११ गतेसम्म जोखिमयुक्त नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन माइकिङ गर्ने जनाएको छ । अत्यावश्यक कामबाहेक सडकमार्गबाट यात्रा नगर्न र सम्भावित विपद्बाट जोगिन विशेष सतर्कता अपनाउन पनि सर्वसाधारणलाई आग्रह गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्