कपिलवस्तुको कृष्णनगरमा झाडापखालाको प्रकोप देखिएको छ । झाडापखालाबाट दुई जनाको मृत्यु भएको छ भने एक सयभन्दा धेरै विरामी परेका छन् । कृष्णनगर नगरपालिकाका वडा नम्बर ७, ८ र ९ मा झाडापखालाको प्रकोप देखिएको छ । बहादुरगञ्जस्थित शिवराज अस्पतालमा बिरामीहरुको चाप छ ।
अस्पतालमा झाडापखालाका ९० भन्दा बढी व्यक्ति उपचाररत छन् । बिरामीको चाप बढेपछि एउटा बेडमा दुई जनालाई राखेर र कतिपयलाई भुईंमै राखेर उपचार गर्नु परेको शिवराज अस्पतालका डाक्टरले जानकारी दिएका छन् । बिरामीहरुलाई अस्पतालको आँगनमा खटियामा राखिएको छ ।
डोरी टाँगेर, त्यसमा स्लाइन पानी झुण्ड्याएर बिरामीहरुलाई दिइएको छ । झाडापखालाबाट एउटै गाउँका ६२ जनासम्म बिरामी परेका छन् । बिरामीहरु धेरैजसो बालबालिकाहरु छन् । गम्भीर बिरामी परेकाहरुलाई जिल्ला अस्पतालमा र लुम्बिनी प्रादेशिक अस्पतालमा रिफर गरिएको छ । झाडापखाला कसरी फैलियो भन्ने थाहा हुन सकेको छैन ।
तर दूषित पानीका कारण झाडापखाला फैलिएको हुन सक्ने अनुमान छ । पानीको नमूना परीक्षणका लागि प्रयोगशालामा पठाएको छ । आज दिउँसोसम्म रिपोर्ट आउने र त्यसपछि मात्र कारणबारे बोल्न सकिने स्वास्थ्य कार्यालयका एक कर्मचारीले जानकारी दिएका छन् ।







प्रतिक्रिया लेख्नुहोस्