२०८३ अशोज १८, आइतवार

एलिनालाई पूर्वपति विष्णु सापकोटाको कटाक्ष- कहिले गीत चलाउन, कहिले व्यवसाय चलाउन म नभई नहुने हो त?

गायिका एलिना चौहानले सञ्चालन गरेको (रमणि बाई एलिना) लुगा पसल रहेको घर किनेर उनलाई पसल सार्न बाध्य बनाएको भन्दै चलेको हल्लाप्रति उनका पूर्वपति विष्णु सापकोटाले कडा आपत्ति जनाउँदै खण्डन गरेका छन् ।

उनका पूर्वपति सापकोटाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले आफूमाथि भइरहेको भ्रमपूर्ण प्रचारको स्पष्टीकरण दिएका हुन् ।

केही दिनयता सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा विष्णुले एलिनाको पसल रहेको घर किनेको र उनलाई त्यहाँबाट लखेटेको दाबीसहितका समाचारहरू भाइरल बनेका थिए । यस विषयमा व्यङ्ग्य गर्दै विष्णुले आफूले घर किनेको कुरा समाचार पढेर मात्र थाहा पाएको बताएका छन् ।

उनले लेखेका छन्, ‘तर म यति धनी पनि भइसकेको छैन कि आफूले घर किनेको खबरसमेत समाचार पढेर थाहा पाउनुपरोस् ।’

विष्णुले आफूमाथि बारम्बार हुने मिडिया ट्रायल संयोग मात्र नभएर सुनियोजित योजना भएको आशंका व्यक्त गरेका छन् । आफ्नो नाम बेचेर कन्टेन्टको पहुँच (रिच) र आम्दानी बढाउने माध्यम बनाइएको उनको आरोप छ । यसमा उनले एलिनातर्फ नै कटाक्ष गरेका छन् ।

आफ्नो नाम जोडेर हुने चर्चाप्रति संकेत गर्दै उनले लेखेका छन्, ‘यदि मेरो नाम बेचेरै कसैको चूलो बलिरहेको छ भने, त्यसलाई पनि मैले पुण्यकै काम सम्झिनेछु । कहिले गीत चलाउन, कहिले जिन्दगी चलाउन त कहिले व्यवसाय चलाउन विष्णु नभई नहुने भएको हो त बजारमा ?’

सम्बन्ध समाप्त भइसके पनि हरेक कुरामा आफूलाई तानेर विवाद सिर्जना नगर्न उनले आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्