२०८३ मंसिर १, सोमवार

‘रामायण’ले ततायो हल, नेपाली फिल्मको व्यापारमा धक्का

भारतीय फिल्म ‘रामायण’ले सिनेमा घरमा दर्शकको आकर्षण बढाइरहँदा नेपाली फिल्महरूको व्यापार भने खस्किएको छ। दसैं र तिहारलाई लक्षित गर्दै प्रदर्शनमा आएका आधा दर्जनभन्दा बढी नेपाली फिल्मले अपेक्षाअनुसार कारोबार गर्न सकेका छैनन्। ठूला चाडपर्वको अवसरमा प्रदर्शनमा आएका नेपाली फिल्महरू अहिले दर्शकको अभावमा सुस्त व्यापार गर्न बाध्य भएका छन्। ‘रामायण’को बढ्दो क्रेजले नेपाली फिल्मको व्यापारमा थप चुनौती सिर्जना गरेको देखिन्छ।

जस्तो, ‘कबड्डी ५- आफ्टर द फाइनल म्याच’को कुरा गरौँ । यो फिल्मले सुरुवाती हप्ता तहल्कै मच्चाएको थियो । आक्रामक सुरुवात गर्दै उसले पहिलो हप्ता १० करोड रुपैयाँ कमाएको थियो । दोस्रो हप्तासम्म आइपुग्दा उसले १२ करोड ३९ लाख ९२ हजार २ सय ४५ रुपैयाँ कमाइ गरेको थियो ।

त्यसयताको एक हप्तामा उसको कमाइ सर्लक्कै खुम्चिएको छ । तेस्रो हप्तामा फिल्मले १२ करोड ९४ लाख १५ हजार ४ सय ३७ रुपैयाँ कमाएको छ ।

यद्यपि, नेपाली फिल्महरूको लस्करमा ‘कबड्डी’ नै अग्रपंक्तिमा छ । त्यसको पछाडि ‘पेन्सन पट्टा’ छ । माओत्से गुरुङ निर्देशित फिल्मले १० करोड ३५ लाख ७८ हजार रुपैयाँ कमाइ गरेको छ ।

त्यसपछि पालो आएको छ पुच्छरमा ‘२’ झुन्डिएका सिक्वेलहरूको । ‘आ बाट आमा’, ‘छ माया छपक्कै’ र ‘१२ गाउँ’का सिक्वेल ।

‘आ बाट आमा–२’ ले ६ करोड ८१ लाख ६७ हजारभन्दा बढी कमाइ गर्दा ‘छ माया छपक्कै–२’ ले ३ करोड ४३ लाख १७ हजार कमाएको छ । यस्तै, ‘१२ गाउँ–२’ ले २ करोड ३२ लाखभन्दा बढी कमाइ गरेको छ । यो शृंखलाको पुच्छरमा ‘पाँच पाण्डव’ छ । यो फिल्मले ४३ लाख ५० हजार रुपैयाँ बढी कमाई गरेको छ ।

११ दिनमा ‘रामायण’को कमाइ १४ सय करोड

यसैगरी, बलिउड फिल्म ‘रामायण’को कमाइ पनि सार्वजनिक भएको छ । फिल्म प्रदर्शनको ११ दिनसम्म आइपुग्दा १४ सय करोड रुपैयाँ कमाइ गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्