२०८३ असार १९, शुक्रबार

पाँचथर बस दुर्घटना: मृतकको सङ्ख्या चार पुग्यो, घाइतेको हेलिकप्टरमा उद्धार

पाँचथरको फिदिम नगरपालिका–४ सरखण्डेमा आज भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । मृत्यु भएकामध्ये तीन जनाको मात्र सनाखत भएको छ ।

दुर्घटनामा मोरङको लेटाङ नगरपालिका–६ का सात वर्षीय प्रज्ज्वल मगरको फिदिमको पाथीभरा अस्पतालमा, इलामकी ३४ वर्षीया प्रमिला देवानको पाँचथर जिल्ला अस्पतालमा तथा उनका सात महिने छोरा निश्चलको फिदिमस्थित समर्पित अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । समर्पित अस्पतालमै मृत्यु भएका एक महिलाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा ६१ यात्रु घाइते भएका छन् ।

घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । फिदिम नगरपालिका–४ शिवादोभानबाट झापातर्फ जाँदै गरेको को १ ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका–४ सरखण्डेमा दुर्घटनामा परेको हो ।

पाँचथर बस दुर्घटनाका १६ घाइतेलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । गम्भीर घाइतेलाई सेनाको हेलिकप्टरमा आज साँझ उद्धार गरिएको हो ।सोह्रै जनालाई थप उपचारका लागि सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याइएको प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले जानकारी दिनुभयो ।

नेपाली सेनाको एम–१७ हेलिकप्टरले १६ बिरामी र तिनका तीन कुरुवालाई फिदिमबाट धरान पु¥याएको हो । घाइतेलाई अन्यत्र लैजान एम्बुलेन्स अभाव भएपछि उनीहरुको हेलिकप्टरमा उद्धार गरिएको हो ।

प्रतिक्रिया लेख्नुहोस्