नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसददेखि राजनीतिक दलभित्रसम्म जनताका प्रश्न, असहमति र फरक विचारका लागि पर्याप्त खुलापन आवश्यक रहेको बताएका छन्। संसद र पार्टीभित्र संवादको ठाउँ साँघुरिँदै गएकाले देशलाई ‘खुलामञ्च’ आवश्यक परेको उनको भनाइ छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले १० वर्षपछि खुलामञ्च खुलेको उल्लेख गर्दै यो काठमाडौंको एउटा चौर मात्र नभएको बताए। नेपालको राजनीतिक आन्दोलनमा खुलामञ्चले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै उनले बीपी कोइराला, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालालगायत नेताहरूले यहीँबाट राजनीतिक सम्बोधन गरेको बताउँदै उनले भने, “खुलामञ्चले मतभेदलाई एकै ठाउँमा राख्न सहयोग गर्छ। संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ।”
थापाले सिंहदरबारदेखि संसद र राजनीतिक दलसम्म जनताका प्रश्न सुन्ने तथा फरक मतलाई सम्मान गर्ने वातावरण बनाउनुपर्ने बताए। संसद जनताको आवाज र प्रश्नको प्रतिनिधित्व गर्ने थलो भएकाले यसलाई थप खुला र उत्तरदायी बनाउनुपर्ने उनको भनाइ थियो। पार्टीभित्र पनि नेतृत्वलाई प्रश्न गर्न र आलोचना गर्न पाउने वातावरण आवश्यक रहेको भन्दै उनले भने, “पार्टीभित्र पनि खुलामञ्च चाहिएको छ। नेतालाई प्रश्न गर्दा सदस्यता नकाटियोस्।”
थापाले सत्ता र नेतृत्वमा उही अनुहार दोहोरिरहने प्रवृत्तिले नेपालको राजनीति ‘म्युजिकल चियर’ जस्तो बनेको टिप्पणी गरे। प्रधानमन्त्री बनेका व्यक्ति फेरि प्रधानमन्त्री बन्न खोज्ने, नेता बनेका व्यक्ति पटक–पटक नेतृत्वमा दोहोरिने र मन्त्रीहरू पनि निरन्तर सत्तामा रहने प्रवृत्तिले जनतामा सबै राजनीतिक दल र नेता उस्तै हुन् भन्ने धारणा विकास भएको उनको भनाइ थियो।
“म्युजिकल चियरजस्तो बनेको थियो। प्रधानमन्त्री बनेका फेरि बन्न मन लाग्ने, नेता बनेका फेरि बनिरहने, मन्त्री पनि बनिरहने, सत्ता नछोड्ने। यसले सबै पार्टी र नेता सबै एउटै हुन्, सबै खराब हुन् भन्ने सन्देश गयो।” राजनीति समाजका हरेक क्षेत्रमा हाबी हुँदै गएको र सामाजिक सञ्जालदेखि सार्वजनिक जीवनसम्म अत्यधिक राजनीतिकरण भएको थापाले बताए। राजनीतिक दल र नेतृत्वप्रतिको असन्तुष्टि विस्तारै ‘भुसको आगो’ जस्तो फैलिँदै गएर त्यसको असर कुनै एउटा दल वा नेतामा मात्र नभई समग्र राजनीतिक प्रणालीमा परेको उनको भनाइ थियो।
थापाले दुई पार्टी मिलेर बनेको दुईतिहाइको सरकार र त्यसको कार्यशैलीबारे जनतासँग पर्याप्त संवाद हुन नसकेको बताए। बदलिँदो जनभावना र असन्तुष्टिलाई राजनीतिक दलहरूले समयमै बुझ्न नसक्दा भदौ २३ र २४ गतेको परिस्थिति आएको उनको दाबी थियो। भदौ २३ र २४ का घटनाबाट कांग्रेससहित अन्य राजनीतिक दलका नेता तथा कार्यकर्ता प्रभावित भएको उल्लेख गर्दै थापाले त्यसपछि कांग्रेस विशेष महाधिवेशनमा गएको बताए। विशेष महाधिवेशनपछि निर्वाचनमा गएको कांग्रेसले अपेक्षित परिणाम हासिल गर्न नसकेको उल्लेख गर्दै उनले अहिलेको १५औँ महाधिवेशनलाई विगतका कमजोरीको समीक्षा गर्ने अवसरका रूपमा लिनुपर्ने बताए।
थापाले जनतामा बढ्दै गएको राजनीतिक वितृष्णा र दलहरूप्रतिको अविश्वास चिर्न कांग्रेसले आफ्नो नेतृत्व, व्यवहार र राजनीतिक कार्यशैलीमा परिवर्तन गर्नुपर्ने बताए। उनका अनुसार लोकतन्त्रलाई बाहिर मात्र खोजेर पुग्दैन, राजनीतिक दलको आन्तरिक संरचना र कार्यशैली पनि लोकतान्त्रिक र प्रश्न स्वीकार गर्ने खालको हुनुपर्छ।







प्रतिक्रिया लेख्नुहोस्