२०८३ बैशाख २७, आइतवार

नेकपा एसले तय गर्‍यो केन्द्रीय कमिटी बैठकका एजेन्डा

नेकपा एकीकृत समाजवादीले शनिबारबाट सुरु हुने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गरेको छ । शुक्रबार काठमाडौंमा बसेको पार्टीको स्थायी कमिटी बैठकले शनिबार र आइतबार काठमाडौंमा बस्ने केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकको एजेन्डा तय गरेको हो ।

केन्द्रीय कमिटीको पहिलो दिन शनिबार केन्द्रीय अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका पदाधिकारीलाई शपथ गराइने नेताले जानकारी दिएका छन् । त्यस्तै, बैठकमा संघीय सरकारका क्रियाकलापका बारेमा पार्टीबाट गएका मन्त्रीहरूबाट जानकारी लिने र प्रदेश १ र बाग्मती प्रदेशका मुख्यमन्त्रीबाट आगामी कार्ययोजना पेस हुने कार्यसूची तय भएको उनले बताएका छन् ।

त्यस्तै बैठकको दोस्रो दिन केन्द्रीय सचिवालय र कार्यालयहरूबाट भएका काम कारबाहीहरू अनुमोदन हुनेछन् । त्यस्तै बैठकमा उठेका प्रश्नको जवाफ अध्यक्षले दिने र समसामयिक प्रस्ताव पारित गर्दै बैठक सकिने नेताले जानकारी दिएका छन् । केन्द्रीय कमिटी बैठकमा नेकपा समाजवादीले सातवटै प्रदेशबाट पार्टीको अवस्थाका बारेमा रिर्पोट लिने तय गरेको छ ।

नेकपा एकीकृत समाजवादीले शनिबार र आइतबारका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ।

प्रतिक्रिया लेख्नुहोस्