२०८३ मंसिर ५, शुक्रबार

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक ५ घण्टा बन्द हुने

नागढुंगा–मुग्लिन सडकखण्ड शनिबार (मंसिर ५) देखि दैनिक ५ घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रबार सूचना जारी गर्दै प्रत्येक दिन बिहान ११ देखि दिउँसो ४ बजेसम्म उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द रहने जानकारी दिएको हो । प्रशासनले अर्को सूचना प्रकाशित नभएसम्म उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द रहने जनाएको हो ।

“नागढुंगा–मुग्लिनसडकखण्डको घोप्टेभीरमा लगातार सुक्खा पहिरो गई सवारी आवागमन प्रभावित बन्न पुगेको र मानवीय क्षति समेत भएको तथ्यलाई मध्यनजर गरी सम्भावित जोखिम न्यूनीकरणका लागि मिति २०८३/०८/०५ देखि अर्को सूचना प्रकाशित नभएसम्म प्रत्येक दिन बिहान ११ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म (दैनिक ५ घण्टा) सडक आवागमन बन्द गरी जोखिमयुक्त ढुंगा/माटो हटाउने कार्य सुरु गर्ने निर्णय गरिएको छ,” प्रशासनले जारी गरेको सूचनामा भनिएको छ ।

उक्त सडकखण्डको घोप्टेभीरमा लगातार सुक्खा पहिरो खसेर सवारी आवागमन प्रभावित बनेको र मानवीय क्षतिसमेत भएकाले सम्भावित जोखिम न्यूनीकरण गर्न सडक बन्द गर्नुपरेको प्रशासनले जनाएको छ । सो समयावधिमा जोखिमयुक्त ढुंगा तथा माटो हटाउने कार्य गरिने सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माद्वारा जारी सूचनामा उल्लेख छ । तोकिएको समयमा उक्त सडकखण्डमा सबै प्रकृतिका सवारीसाधनको आवागमन बन्द रहने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न वा समय व्यवस्थापन गरेर मात्र यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्