२०८३ जेष्ठ ४, सोमवार

माधव नेपाल भन्छन् -सूर्यको धाक नलगाउ, कलम चम्किँदैछ

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीको प्रदेश र धनुषा जिल्ला कार्यालयको उद्घाटन गरेका छन् । बुधबार जनकपुरधाममा एकीकृत समाजवादी प्रदेश २ को कार्यालय तथा धनुषा जिल्ला कार्यालयको उद्घाटन गर्दै अध्यक्ष नेपालले केपी शर्मा ओली अहिले अत्यन्तै छट्पटाइरहेको टिप्पणी गरेका छन् ।

उनले ओलीले जथाभावी बोलेर आफ्नो असली चरित्र देखाइरहेको पनि उनको आरोप छ ।पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले भने, ‘केपी ओली अत्यन्तै छटपटिएर अन्टसन्ट बोलिरहेका छन् । उहाँलाई अन्टसन्ट बोल्न दिनुस् मलाई बोल्नु छैन । गाली गर्न दिनुस्, म गाली गलौज गर्दिन । किनभने उहाँले आफ्नो चरित्र देखाइरहनु भएको छ ।

हामी राम्रो चरित्र संस्कार देखाउँछौँ ।’उनले सात वटा प्रदेश मध्ये दुई वटा प्रदेशमा पार्टी नेतृत्वको सरकार रहेको भन्दै संघीय सरकारमा समेत बलियोरुपमा उपस्थिति रहेको बताएका छन् । उनले प्रदेश २ मा समेत ओलीको एमाले पार्टी भन्दा आफ्नो पार्टी अब्बल रहेको बताउँदै नेपालले ओलीलाई सूर्य चिन्हको धाक नलगाउन पनि चेतावनी दिएका छन् ।

‘अब सूर्य चिन्हको धाक नदेखाए हुन्छ, सूर्यमा ग्रहण लागिसकेको छ’, नेपालले भने, ‘अब कलम चम्किरहेको छ । सत्य र न्यायको सन्देश दिइरहेको छ ।’ उनले सत्य र न्यायको सन्देशका लागि एकीकृत समाजवादी अगाडि बढिसकेको समेत बताएका छन् । उनले मंसिर १५ देखि जनताको घरघर पुग्ने अभियान संचालन गर्ने योजना रहेको पनि जानकारी समेत दिएका छन् ।

 

प्रतिक्रिया लेख्नुहोस्