२०८३ बैशाख १९, शनिबार

तनहुँमा ९२ फरार प्रतिवादी पक्राउ

चालु आर्थिक वर्ष ०७८/७९ को चार महिनाको अवधिमा तनहुँमा ९२ फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले साउनदेखि कात्तिकसम्म जिल्ला अदालतबाट विभिन्न मुद्दामा सजाय तोकिएर फरार रहेका ९२ फरार प्रतिवादी पक्राउ गरेको हो ।

पक्राउ पर्नेमध्ये ८० पुरुष र १२ महिला रहेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । पक्राउ परेकालाई ७३ वर्ष आठ महिना २९ दिन कैद भुक्तानका लागि कारागार चलान गरिनाका साथै उनीहरूबाट रु २८ लाख ८३ हजार ३ सय ५५ जरिवाना असुल गरिएको छ ।

प्रहरीले यसअवधिमा विसं २०२५ वैशाख १४ गते फैसला भई हालसम्म फरार रहेका एक प्रतिवादीलाई २६ वर्षपछि पक्राउ गरेको थियो । फरार प्रतिवादी पक्राउ अभियान विगत दुई वर्षदेखि सञ्चालित छ । प्रहरी कार्यालयमा चालु आर्थिक वर्षको चार महिनामा १ सय ५४ मुद्दा दर्ता भएकामा ५२ मुद्दा फछ्र्योट भएको र १ सय २ मुद्दा फछ्र्योट हुन बाँकी छ ।

प्रहरीले यसअवधिमा विभिन्न मुद्दाका ८९ जनालाई पक्राउ गरेकामा एक जना फरार छ । पक्रिएकामध्ये २४ जना पुर्पक्षका लागि थुनामा गएको प्रहरीले जानकारी दिएको छ ।

 

प्रतिक्रिया लेख्नुहोस्