त्रिपुरेश्वरमा बसमा आगलागी हुनुअघि चालक र ट्राफिक प्रहरीबीच भनाभन भएको खुलेको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडियोमा बस चालक र ट्राफिक प्रहरीबीच विवाद भइरहेको देखिन्छ। भिडियोमा घटनास्थल वरपर ५–६ जना ट्राफिक प्रहरी देखिन्छन् भने चालक बसभित्रैबाट आफूले कुनै गल्ती नगरेको भन्दै ट्राफिक प्रहरीसँग आक्रोश पोखिरहेका छन्।
चालकले आफूलाई बिना कारण जरिवाना गर्न खोजिएको र दुःख दिएको भन्दै प्रश्न गरेका छन्। उनले भनेका छन्, ‘बिना गल्ती उहाँहरूले मलाई फाइन हान्न मिल्छरु’
भिडियोमा ट्राफिक प्रहरीले चालकलाई अगाडि लगेर बस रोक्न तथा कागजात मागेको सुनिन्छ। त्यसपछि चालकले आफूले गल्ती नगरेको दाबी गर्दै प्रमाण देखाउन ट्राफिक प्रहरीसँग माग गरेका छन्।
‘मेरो गल्ती के छ, प्रमाण देखाउनुस्,’ चालकले भनेका छन्। उनले यात्रुलाई समेत बसबाट ओराल्नुपरेको भन्दै गुनासो गरेका छन्।
चालकले आफूहरू काम गरेर खाने मानिस भएको भन्दै ट्राफिक प्रहरीसँग आक्रोशित शैलीमा कुरा गरेका छन्। ‘बरु मर्न तयार छु, कसम छोड्दिनँ। जे गर्न सक्छौं गर,’ उनले भिडियोमा भनेका छन्।
यसैबीच, त्रिपुरेश्वर चोकस्थित बस स्टपअगाडि बसमा आगलागी भएको थियो। घटनाबारे काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले बसमा आगलागी भएको पुष्टि गरेका छन्।
आगलागी हुनु र त्यसअघि चालक तथा ट्राफिक प्रहरीबीच भएको विवादबीच प्रत्यक्ष सम्बन्ध रहे–नरहेकोबारे भने सम्बन्धित निकायबाट थप अनुसन्धान हुन बाँकी छ।







प्रतिक्रिया लेख्नुहोस्