२०८३ कार्तिक २१, शुक्रबार

तिहार: आज धनतेरस पर्व मनाइँदै

दीपावली अर्थात् तिहारको धार्मिक उत्सव सुरु भएको संकेतका रूपमा आज धन त्रयोदशी अर्थात् धनतेरस पर्व मनाइँदैछ। धन, समृद्धि र आरोग्यको कामनासहित मनाइने यस पर्वमा विशेषगरी सुनचाँदी, धातुका भाँडाकुँडा तथा नयाँ सामग्री खरिद गरी घरमा भित्र्याउने परम्परा छ।

धार्मिक मान्यताअनुसार धनतेरसका दिन नयाँ सामग्री खरिद गर्दा घरमा सुख, समृद्धि र धनधान्य वृद्धि हुने विश्वास गरिन्छ। यस दिन खरिद गरिएका सामग्री घरमा भित्र्याएर लक्ष्मी र कुबेरको पूजा गरेमा धनसम्पत्ति तथा समृद्धि प्राप्त हुने जनविश्वास छ।

धनतेरसका अवसरमा सुन, चाँदी, तामा, पित्तल तथा स्टिलका भाँडाकुँडा खरिद गर्ने प्रचलन छ। आफ्नो आर्थिक क्षमताअनुसार सामग्री खरिद गर्न सकिने भए पनि धार्मिक मान्यतामा चाँदीका सामग्री किन्नुलाई विशेष शुभ मानिन्छ। यस दिन लक्ष्मी र गणेशको मूर्ति वा तस्बिर घरमा भित्र्याउने चलन पनि छ। कमलको फूलमाथि विराजमान भएकी माता लक्ष्मीको मूर्ति स्थापना गर्नु शुभ मानिने धार्मिक विश्वास छ। आर्थिक अवस्थाअनुसार माटोका मूर्ति वा तस्बिर राखेर पनि पूजा गर्न सकिन्छ।

धनतेरसमा खरिद गरिएका सामग्री घरको पूर्वोत्तर दिशा अर्थात् ईशान कोणमा राख्ने धार्मिक मान्यता छ। त्यस्तै, कौडी, कमल गट्टा र सिङ्गो धनियाँ खरिद गरी लक्ष्मी पूजामा समावेश गर्ने चलन पनि छ। धनतेरसलाई धनकी देवी लक्ष्मी र धनका देवता कुबेरको विशेष आराधना गर्ने दिनका रूपमा लिइन्छ। यस दिन श्रद्धालुहरूले घरको सरसफाइ गरी पवित्र मनले पूजा अर्चना गर्ने र घरमा लक्ष्मीको बास होस् भन्ने कामना गर्ने गर्छन्।

धनतेरससँगै तिहारको धार्मिक उत्सव सुरु हुने भएकाले घरको सरसफाइ, पूजाआजा र नयाँ सामग्री खरिदमा विशेष ध्यान दिइन्छ। यद्यपि, नयाँ सामग्री खरिद गर्नैपर्ने बाध्यता नभई आफ्नो आर्थिक क्षमताअनुसार पर्व मनाउने चलन पनि बढ्दो छ।

प्रतिक्रिया लेख्नुहोस्