२०८३ कार्तिक २१, शुक्रबार

ग्लोबल आइएमई बैंकले काठमाडौँको उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन बनाउँदै, भूमिपूजा सम्पन्न

ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँको उत्तरढोकामा आफ्नो अत्याधुनिक कर्पोरेट भवन निर्माणको काम अघि बढाएको छ । शुक्रबार निर्माणस्थलमा आयोजित एक समारोहबीच बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले विधिपूर्वक जगको पूजा (भूमिपूजा) गरेर भवन निर्माणको औपचारिक सुरुआत गरेका हुन् ।

लाजिम्पाटस्थित उत्तरढोकामा रहेको आफ्नै जग्गामा बैंकले अत्याधुनिक नयाँ कर्पोरेट कार्यालय भवन निर्माण गर्न लागेको हो।करिब ३ अर्ब रुपैयाँको लागतमा निर्माण हुन लागेको उक्त भवन तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको बैंकले जनाएको छ । बैंकका अध्यक्ष ढकालले वाणिज्य बैंकहरूको केन्द्रीय कार्यालयमध्ये सबैभन्दा बढी क्षेत्रफलमा फैलिएको र अत्याधुनिक सुविधासम्पन्न भवन निर्माण गर्न लागिएको बताए ।

उनका अनुसार प्रस्तावित भवन करिब १ लाख ४५ हजार वर्गफिट क्षेत्रफलमा निर्माण हुनेछ। अध्यक्ष ढकालले बैंकिङ क्षेत्रको आवश्यकता, आधुनिक प्रविधि तथा सेवाग्राहीलाई उपलब्ध गराइने सुविधालाई ध्यानमा राखेर भवन निर्माण गर्न लागिएको जानकारी दिए । उनले नयाँ भवन बैंकको संस्थागत विकाससँगै नेपालको बैंकिङ पूर्वाधारलाई समेत थप व्यवस्थित र आधुनिक बनाउने उद्देश्यले निर्माण हुने बताए ।

अध्यक्ष ढकालले भवन निर्माण सम्पन्न भएपछि यो बैंकको केन्द्रीय कार्यालयका रूपमा मात्रै सीमित नरही नेपालको बैंकिङ क्षेत्रकै एक विशिष्ट पहिचान र आइकनका रूपमा स्थापित हुने विश्वास व्यक्त गरे । नयाँ केन्द्रीय कार्यालय भवन निर्माणले बैंकको संस्थागत क्षमता अभिवृद्धि गर्नुका साथै सेवा प्रवाहलाई थप प्रभावकारी, व्यवस्थित र प्रविधिमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८८ शाखा, २६० एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी करिब ८७५ सेवा केन्द्रबाट २९लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्