गरिमा विकास बैंक लिमिटेडले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा ‘गरिमा रोड रेस २०८३’ आयोजना गर्ने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नारासहित प्रतियोगिताको तेस्रो संस्करण आगामी मंसिर ५ गते शनिबार काठमाडौंमा सञ्चालन हुनेछ ।
स्वस्थ जीवनशैलीको प्रवर्द्धन, खेलकुदप्रति जनचेतना अभिवृद्धि तथा धावकहरूको प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले २०८१ सालदेखि यस प्रतियोगिताको सुरुवात गरेको हो । यस वर्षको प्रतियोगितामा खुला र कर्पोरेट विधातर्फ गरी करिब १ हजार ५०० धावक सहभागी हुने अपेक्षा गरिएको बैंकले जनाएको छ ।
प्रतियोगिता खुला र कर्पोरेट गरी दुई विधामा सञ्चालन हुनेछ । खुलातर्फ महिला तथा पुरुष दुवै समूहका लागि १० किलोमिटर र कर्पोरेटतर्फ महिला तथा पुरुष दुवै समूहका लागि ५ किलोमिटर दौड हुनेछ ।
कर्पोरेट विधामा नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, बैंक तथा वित्तीय संस्था, मर्चेन्ट बैंक, बिमा कम्पनी, पेमेन्ट सर्भिस प्रोभाइडर र पेमेन्ट सिस्टम अपरेटरमा कार्यरत स्थायी कर्मचारीले मात्र सहभागिता जनाउन पाउनेछन् ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने धावकलाई आकर्षक नगद पुरस्कार प्रदान गरिनेछ । खुलातर्फ महिला तथा पुरुष दुवै समूहमा प्रथम हुनेले जनही ५० हजार, द्वितीय हुनेले ३५ हजार, तृतीय हुनेले २० हजार, चौथो हुनेले १५ हजार र पाँचौँ हुनेले १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
त्यस्तै, कर्पोरेटतर्फ महिला तथा पुरुष दुवै समूहमा प्रथम हुनेले जनही ३० हजार, द्वितीय हुनेले २० हजार, तृतीय हुनेले १५ हजार, चौथो हुनेले १० हजार र पाँचौँ हुनेले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । दौड पूरा गर्ने सबै सहभागीलाई प्रमाणपत्र र मेडलसमेत प्रदान गरिने बैंकले जनाएको छ ।
खुलातर्फको १० किलोमिटर दौड बैंकको केन्द्रीय कार्यालय रहेको बालुवाटारस्थित भवनबाट सुरु हुनेछ । दौड बूढानीलकण्ठ नगरपालिका–३ को वडा कार्यालय परिसर पुगेर सोही मार्ग हुँदै पुनः बालुवाटारमा आएर समापन हुनेछ ।
त्यस्तै, कर्पोरेटतर्फको ५ किलोमिटर दौड बालुवाटारबाट सुरु भई बाँसबारीस्थित न्युरो अस्पतालसम्म पुगेर सोही मार्ग हुँदै बालुवाटारमै समापन हुनेछ ।
प्रतियोगितालाई व्यवस्थित, प्रतिस्पर्धात्मक र प्रभावकारी रूपमा सम्पन्न गर्न बैंकले एनआरएस स्पोर्ट्स फाउन्डेसनसँग सहकार्य गरेको छ । प्रतियोगितामा सहभागी हुन इच्छुक धावकले कात्तिक २८ गतेदेखि मंसिर २ गतेसम्म अनलाइनमार्फत १०० रुपैयाँ दर्ता शुल्क भुक्तानी गरी नाम दर्ता गराउन सक्नेछन् ।
बैंकले खेलकुदमार्फत स्वस्थ, सक्रिय र अनुशासित समाज निर्माणमा योगदान पुग्ने विश्वास व्यक्त गर्दै इच्छुक धावकलाई प्रतियोगितामा उत्साहजनक सहभागिताका लागि आह्वान गरेको छ । प्रतियोगितासम्बन्धी थप जानकारीका लागि बैंकको कल सेन्टर ०१–५९७०१७९ मा सम्पर्क गर्न सकिनेछ ।







प्रतिक्रिया लेख्नुहोस्