नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत निर्वाचनको तयारी तीव्र पारिएको छ । निर्धारित तालिकाअनुसार आज राति ९ बजेदेखि मतदान हुनेछ ।
अध्यक्षसहित उपाध्यक्ष, सचिव पदमा निर्वाचन हुन लागेको हो । पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव भने निर्विरोध चयन भएका छन् ।चितवनको सौराहस्थित होटेल सेभेन स्टारको एउटा हलमा मतदानस्थल तयार गरिएको छ । विद्युतीय मेसिनबाट मतदान हुनेछ ।
बढीमा १०० वटा मेसिनबाट मतदान हुने एमाले केन्द्रीय निर्वाचन आयोगका अधिकारीहरूले जानकारी दिएका छन् । राम–लक्ष्मण भोटिङ मेसिनबाट मतदान हुन लागेको हो । उक्त भोटिङ मेसिनका निर्मातामध्येका एकले आफूहरू तयारी अवस्थामा रहेको बताएका छन् । “हामी तम्तयार अवस्थामा छौँ । मेसिनमा गर्नुपर्ने प्राविधिक परीक्षणका कामहरू सकाइसकेका छौँ,” उनले भने ।
मतदानअघि अन्तिम परीक्षण गरेर मात्रै मतदाताका लागि भोटिङ मेसिन खुला गरिने उनले जानकारी दिएका छन् । त्यस्तो प्रक्रियाका लागि ६/७ सात घण्टाको समय लाग्ने उनले बताएका छन् । एकजना मतदातालाई भोटिङ गर्न करिब ३० मिनेट लाग्ने अनुमान गरिएको उनको भनाइ छ । यस्तै, मतगणना गर्न तीन–चार घण्टा लाग्ने उनले जानकारी दिएका छन् ।







प्रतिक्रिया लेख्नुहोस्