राष्ट्रिय अपांग महासंघका अध्यक्ष मित्रलाल शर्माले नेपाली राजनीतिका मुख्य दलहरुले अपांगता भएका व्यक्तिहरुको प्रतिनिधित्व नगरेको भन्दै विरोध जनाएका छन् ।
अपांगता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस’ को अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले काँग्रेस, माओवादी र राप्रपा लगायतका दलले अपांगता भएका व्यक्तिको प्रतिनिधित्व नगरेको बताएका हुन् । उनले राजनीतिक दलले भाषण गर्दा र भोट माग्दा अपांगता भएका व्यक्तिका कुरा उठाउने गरेको भए पनि प्रतिनिधित्व गराउँदा भने बिर्सिने गरेको बताएका छन् ।
उनले भने, ‘हामीले लामो समयदेखि राजनीतिक दलमा अपांगता भएका व्यक्तिको पनि सहभागिता हुनुपर्छ भनेर उठाउँदै आएका छौँ । तर, कुनै पनि राजनीतिक दलले सुनिरहेको छैनन् । भर्खरै अधिवेशन सम्पन्न गरेको नेकपा एमालेले पनि सुनेनन् ।’राजनीतिमा संलग्न भएका अपांगता भएका व्यक्ति र संस्थाले धेरै पटक राजनीतिक दलका कार्यालयमा धर्ना दिँदा र ध्यानाकर्षण गराउँदा पनि नसुनेको अध्यक्ष शर्माको भनाई छ ।
अब अधिवेशन गर्ने तयारीमा रहेका राजनीतिक दललाई लक्षित गर्दै अध्यक्ष शर्माले अपांगता भएका व्यक्तिको सहभागिता गराउन माग गरे । उनले भने, ‘फेरी पनि हामी ध्यानाकर्षण गराउन चाहान्छौँ । अहिले हाम्रो कार्यालय नजिकै राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय महाधिवेशन चलिरहेको छ । उसले पनि अपांगता भएका व्यक्तिलाई समेट्ने छाटकाट देखाएको छैन ।
निकट भविष्यमै नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) ले पनि महाधिवेशन गर्दैछ । सबै पार्टीलाई अपांगता भएका व्यक्ति समेट्नका लागि राष्ट्रिय अपांग महासंघ यहाँहरु मार्फत नै ध्यानाकर्षण गराउन चाहान्छु ।’अध्यक्ष शर्माले सरकारले गर्ने राजनीतिक नियुक्तीमा पनि अपांगता भएका व्यक्तिलाई नसमेटेको प्रति दुख व्यक्त गरेका छन् ।
उनले भने, ‘दलित आयोग, महिला आयोगलगायत विभिन्न आयोग छन् । ति आयोगले काम गर्ने क्षेत्रमा अपांगता भएका व्यक्ति पनि पर्छन । ति आयोगमा त समेटेनन् नै । तर, अपांगता भएकै व्यक्तिको क्षेत्रमा काम गर्ने समावेशी आयोगमा समेत अपांगता भएका व्यक्ति समेटिएनन् । यसप्रति हामी दुःखसँगै खेद पनि प्रकट गर्दछौ ।’







प्रतिक्रिया लेख्नुहोस्