२०८३ बैशाख १६, बुधबार

चालु आर्थिक वर्षको पाँच महिनासम्म लगातार रेमिट्यान्स घट्यो

चालु आर्थिक वर्षको पाँच महिनासम्म लगातार रेमिट्यान्स घटेको छ । मंसिर महिनामा पनि रेमिट्यान्स घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बैंकले बिहीबार सार्वजनिक गरेको चालु वर्षको पाँच महिनासम्म देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थामा मंसिर महिनामा पनि विप्रेषण आप्रवाह ६.८ प्रतिशतले कमी आएको उल्लेख छ ।

समीक्षा अवधिमा विप्रेषण आप्रवाह ६.८ प्रतिशतले कमी आई ३८८ अर्ब ५८ करोड कायम भएको केन्द्रीय बैंकले जानकारी दिएका छन् । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.० प्रतिशतले बढेको थियो भने चालु वर्षको कात्तिम महिनासम्म ७.५ प्रतिशतले कमी आएको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले कमी आई ३ अर्ब २६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.४ प्रतिशतले बढेको थियो ।समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रूपमा वृद्धि भई १ लाख ३१ हजार ८२ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९२.७ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २९५.८ प्रतिशतले वृद्धि भई ९९ हजार ५८० पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७७.३ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर ५.७ प्रतिशतले कमी आई ४३३ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ८.५ प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्