नेपाल सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीच यसअघि भएको तीन बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा आज छलफल भएको छ । गृह मन्त्रालयमा भएको छलफलमा सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण, कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे, कानुनसचिव उदयराज सापकोटा तथा नेकपाका तर्फबाट नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा सहभागी थिए ।
नेकपासँग सरकारले विसं २०७७ फागुन २० मा तीन बुँदे सहमति गरेको थियो । उक्त सहमति कार्यान्वयनमा अहिलेसम्म भएका प्रगति र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा कुराकानी भएको गृह मन्त्रालयका प्रवक्ताले जानकारी दिएका छन् । मन्त्रालयका प्रवक्ताले फिर्ता लिन मिल्ने मुद्दा छिटो फिर्ता गर्ने विषयमा पनि छलफल भएको जानकारी दिएका छन् ।
वार्तामा नेकपाका प्रवक्ताले विभिन्न आन्दोलनका क्रममा पार्टी कार्याकर्तालाई लगाइएका मुद्दा र जेलमा रहेका कार्यकर्ताको विवरण सरकारलाई बुझाएका थिए। सरकारका तर्फबाट पनि अहिलेसम्म थुनामा रहेका नेकपाका कार्यकर्ता र मुद्दाको विवरण प्रस्तुत भएको प्रवक्ताले जानकारी दिएका छन् ।
बैठकपछि नेकपा प्रवक्ताले तीन बुँदे सहमति कार्यान्वयनको टाइमलाइन वार्तामा बनाइएको र माग कार्यान्वयनमा सरकार सकारात्मक देखिएको जानकारी गराए । ‘केही विषय टुङ्गिएका पनि छन्, केही टुङ्गिने क्रममा छन्, आशा छ छिटै निष्कर्ष निष्कन्छ’, प्रवक्ता विश्वकर्माले भने । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको सहमति कार्यान्वयन गर्न गृह मन्त्रालयले उक्त पार्टीसँग निरन्तर छलफल गरिरहेको छ ।







प्रतिक्रिया लेख्नुहोस्