२०८३ असार २१, आइतवार

अर्थमन्त्रीले गभर्नरलाई सचिव र सहसचिव झैं चलाउन खोजे : विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकको स्वायत्ततामाथि हस्तक्षेप गरेको बताएका छन् । राष्ट्र बैंक स्वायत्त निकाय हो भन्दै उनले अर्थमन्त्रीले मन्त्रालय अधिनको अंगजस्तो ठानेको आरोप लगाए ।

‘राष्ट्र बैंकलाई मन्त्रालय अधिनको अंगको रुपमा व्यवहार गरियो, गभर्नरलाई मातहतका सचिव वा सहसचिवलाई झै चलाउन खोजियो राष्ट्र बैंकको स्वायत्ततामा हस्तक्षेप गरियो’ उनले भने । सरकारले राष्ट्र बैंकलाई मौद्रिक नीति ल्याउन र आवश्यकता अनुसार परिमार्जन गर्न पनि रोक लगाएको पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले बताए । सरकारले राष्ट्र बैंकमाथि गरेको हस्तक्षेपकै कारण अहिले मुलुकको आर्थिक अवस्था कमजोर भएको उनको दावी छ ।

मुलुकको अर्थतन्त्र जोगाउन खोज्दा सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई प्रदमुक्त गर्ने प्रक्रिया सुरु गरेको उपाध्यक्ष पौडेलले आरोप लगाए ।‘सरकारले यो निर्णय सच्याओस् अन्यथा, यो निर्णयमा सरकार कायम रहे मुुलुकको अर्थतन्त्र थप धरासायी हुन्छ’ उनले भने, ‘जुन प्रकारको नग्न हस्तक्षेप गरिएको छ । यो व्यक्ति महाप्रसाद अधिकारीमाथि गरिएको होइन, प्रणाली स्थापिन गर्ने प्रयासमाथिको हस्तक्षेप हो ।’

सरकारले प्रणाली भत्काउन हस्तक्षेप गरेको उपाध्यक्ष पौडेलले बताए ।

प्रतिक्रिया लेख्नुहोस्