केन्द्रीय सत्तारुढ गठबन्धनले आपसमा तालमेलसहित स्थानीय तहको निर्वाचनमा जान निर्देशन दिए पनि गठबन्धनमा आवद्ध दलहरु लुम्बिनी प्रदेशका केही जिल्लामा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमतिमा पुगेका छन् । १०९ स्थानीय तह रहेको लुम्बिनी प्रदेशमा रुपन्देही, बाँके, रोल्पा, कपिलवस्तु, नवलपरासी, प्युठानका केही स्थानीय तहमा गठबन्धन दलहरुबीच मित्रवत् प्रतिस्पर्धासहित चुनावमा जाने सहमति भएको हो ।
गठबन्धन घटकबीच आफू बलियो रहेको भन्दै पालिका प्रमुख पदका लागि आपसमै हानथाप भएपछि यस्तो सहमति गरिएको हो । रुपन्देहीमा १६ स्थानीय तहमध्ये लुम्बिनी सांस्कृतिक नगरपालिका, मर्चवारी गाउँपालिका, सम्मरीमाई गाउँपालिका, कोटहीमाई गाउँपालिका, मायादेवी गाउँपालिका र गैडहवा गाउँपालिकामा गठबन्धन घटकहरु छुट्टाछुट्टै चुनाव लड्ने सहमति भएको हो ।
यस्तै, बाँके जिल्लामा नेपालगन्ज उपमहानगरपालिका र केही स्थानीय तहमा जसपाले गठबन्धनबीच तालमेल बिना नै प्रतिस्पर्धामा जाने निर्णय गरेको छ । रोल्पा जिल्लामा पनि गठबन्धन घटक मित्रवत् प्रतिस्पर्धामा जाने तयारी भएको छ ।
नेपाली काँग्रेसले रोल्पामा तालमेल नभए पनि आफूले ५ भन्दा धेरै स्थानीय तह जित्ने दाबी गरेको छ । यहाँ माओवादी केन्द्रले अघिल्लो निर्वाचनमा ७ वटा स्थानीय तह जितेको थियो । अहिले त्योभन्दा धेरै जित्ने उसको दाबी छ । दुवै दलले आफू शक्तिशाली रहेको भन्दै पालिका प्रमुखमा दाबी गरेपछि तालमेलमा समस्या भएको हो ।
नेपाली काँग्रेस रोल्पाका सभापति किशोर आचार्यले यहाँ नेपाली काँग्रेस र माओवादी केन्द्रको मात्र पकड रहेकाले आफूहरु मित्रवत् रुपमा प्रतिस्पर्धामा उत्रने तयारी भएको बताएका छन् । उनले भने, ‘यहाँ गठबन्धन घटकबीच नै प्रतिस्पर्धा हुँदासमेत एमाले निकै कमजोर देखिन्छ, त्यसैले हामीले मित्रवत् रुपमा चुनावमा जान्छौँ भनेर त्यही अनुसारको सिफारिस पठाएका छौँ ।’
यस्तै कपिलवस्तु र नवलपरासीका केही स्थानीय तहमा पनि गठबन्धन घटकबीच तालमेल नहुने भएको छ । यहाँ पनि धेरै ठाउँमा गठबन्धनभित्रै मित्रवत् प्रतिस्पर्धा हुने जनाइएको छ । खासगरी एमाले कमजोर भएको र गठबन्धनभित्रकै दलहरुको बलियो पकड रहेका पालिकामा गठबन्धन घटकबीच तालमेल बिना नै प्रतिस्पर्धा हुने भएको हो ।







प्रतिक्रिया लेख्नुहोस्