२०८३ असार २१, आइतवार

कांग्रेसमा पनि दम्भ र अहंकार देखियो, एमाले जस्तै कांग्रेसलाई ठेगान लगाउन नपरोस् : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस पनि एमालेजस्तै अहंकार र दम्भ चुलिएर माओवादी केही होइन भन्ने धेरै ठाउँमा देखिएको बताएका छन् । उनले स्थानीय तहको चुनावी जितका आधारमा कांग्रेसको अ‌हंकार बढे एमालेकै जस्तो हालत बनाइदिने चेतावनी दिए ।

पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई बुधबार काठमाडौंमा प्रशिक्षण दिँदै प्रचण्डले स्थानीय चुनावको नतिजासँगै कांग्रेसका कतिपय नेतामा दम्भ र अहंकार देखिएको बताएका हुन् ।

प्रचण्डले भने, ‘हिजो एमालेसँग हामीले गठवन्धन र पार्टी एउटै बनाउँदा राम्रो उद्देश्य राखेका थियौं । तर, एमालेको लिडरसिपमा अति धेरै अहंकार आयो । अहिले कांग्रेसमा पनि त्यस्तै होला कि भन्ने डर पैदा भएको छ । हामीले प्रधानन्त्री बनायौं । मिहिनेत गरेरै बनाएको हो । देउवा नै प्रधानमन्त्री भइराख्नुस् भन्ने छ । तर हामी चिन्तित छौं । कांग्रेसमा पनि एमालेजस्तै अहंकार र दम्भ चुलिएर माओवादी केही होइन भन्ने धेरै ठाउँमा देखिएको छ । भोलि हामीले एमालेलाई ठेगान लगाएजस्तै कांग्रेसलाई ठेगान लगाउनु नपरोस् ।’

उनले माओवादीले कहिले कसको कहिले कसको दम्भ बढाईदिन्छ भन्ने आरोप लाग्ने गरेको उल्लेख गरे । ‘कहिले एमालेको दम्भ बढाइदिन्छ, कहिले कांग्रेसको दम्भ बढाइदिन्छ भन्ने आरोप छ । त्यस्तो गरेको जस्तो पनि देखिन्छ तर जसले दभ्भ देखायो अह‌कार त्यसविरुद्ध मा‌ओवादीले विद्रोह गर्दै आएको छ,’ उनले भने । गठबन्धनको विषयलाई लिएर कांग्रेसले दम्भ र अह‌ंकार देखाउने अवस्था आए त्यसविरुद्ध विद्रोह गर्ने उल्लेख गरे ।

प्रतिक्रिया लेख्नुहोस्