२०८३ असार २१, आइतवार

बजेटको जवाफ दिए लगत्तै नागरिकता विधेयक ल्याइने प्रधानमन्त्रीको भनाइ

प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा छलफल भइरहेको बजेटमाथि उठेका प्रश्नको जवाफ दिए लगत्तै नागरिकता विधेयक ल्याउने आश्वासन दिएको लोकतान्त्रिक समाजवादीका नेताहरूले जानकारी दिएका छन् ।

सोमबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेका लोसपाका नेताहरुसँग प्रधानमन्त्री देउवाले बजेटमाथि उठेका प्रश्नको जवाफ दिए लगत्तै नागरिकता विधेयक ल्याउने आश्वासन दिएका हुन् ।‘आज हामी बालुवाटार पुगेका थियौँ । प्रधानमन्त्रीज्यूले बजेट लगत्तै नागरिकता विधेयक ल्याउने आश्वासन दिनुभएको छ,’ लोसपा नेता शरदसिंह भण्डारीले न्युज कारखानासँग भने ।

लोसपा अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारीसहितका नेताहरुले प्रधानमन्त्रीलाई भेटेर आफूहरुले बुझाएको ११ बुँदे मागसहितको ज्ञापन पत्रका विषय ध्यानाकर्षण गराएका छन् । उनीहरूले तत्काल नागरिकताको समस्या समाधान गर्न गरेको आग्रहलाई स्विकार्दै प्रधानमन्त्री देउवाले नागरिकता विधेयक ल्याइहाल्ने बताएका भण्डारीले बताए ।

साथै जेल जीवन बिताइरहेका आफ्ना नेता रेशम चौधरीलाई कारागारमुक्त गराउन पनि उनीहरूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
तराई मधेस संयुक्त बजेट कटौतीको विषयमा पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको नेता भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्