२०८३ कार्तिक ४, मङ्लबार

२३ रनको दबाब, दीपेन्द्रको कमाल! ओमानलाई हराउँदै नेपाल शीर्ष ६ मा

नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को आफ्नो अन्तिम खेलमा घरेलु टोली ओमानलाई १० रनले पराजित गर्दै अंकतालिकाको शीर्ष ६ मा स्थान पक्का गरेको छ। सोमबार ओमानको अल अमेरतस्थित मिनिस्ट्री टर्फ–१ मा भएको खेलमा नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो।

यस जितसँगै नेपालले ३६ खेलबाट ३० अंक जोडेको छ। नेपालले शीर्ष ६ मा रहेर लिग–२ को यात्रा टुंग्याउँदा क्यानडा ३६ खेलबाट २९ अंकसहित सातौँ स्थानमा छ। शीर्ष ६ मा रहने टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउने सम्भावना बलियो हुने भएकाले नेपालका लागि यो जित महत्त्वपूर्ण बनेको छ।

२८१ रनको लक्ष्य पछ्याएको ओमानले ३२ रनमा पहिलो विकेट गुमाएको थियो। त्यसपछि जतिन्दर सिंह र हम्माद मिर्जाले दोस्रो विकेटका लागि १५८ रनको साझेदारी गर्दै ओमानलाई जिततर्फ अघि बढाए। जतिन्दरले ११४ बलमा सात चौका र एक छक्कासहित ८९ रन बनाए। हम्मादले ८७ रनको योगदान गरे। दुवै ब्याटरले बलियो साझेदारी गरेपछि ओमान सहज जिततर्फ अघि बढ्ने देखिएको थियो।

तर, ३७औँ ओभरमा ललितनारायण राजवंशीले हम्मादलाई आउट गर्दै साझेदारी तोडेपछि खेलको अवस्था बदलियो। १९० रनमा दोस्रो विकेट गुमाएको ओमानले त्यसपछि नियमित अन्तरालमा विकेट गुमाउन थाल्यो। २०३ रनमा तेस्रो र २०६ रनमा चौथो विकेट गुमाएको ओमानका कप्तान विनायक शुक्ला १३ रन बनाएर आउट भए। त्यसपछि सन्जु सजिव रनआउट भएपछि ओमान २३२ रनमा छ विकेट गुमाएको अवस्थामा पुग्यो।

तर, हसनैन शाहले आक्रामक ब्याटिङ गर्दै ओमानको जित्ने आशा कायम राखे। उनले २३ बलमा चार चौका र दुई छक्कासहित अविजित ४० रन बनाए। उनको प्रयासले अन्तिम ओभरसम्म खेल रोमाञ्चक बन्यो। नेपालका ललितनारायण राजवंशी र दीपेन्द्रसिंह ऐरीले दुई–दुई विकेट लिए। नन्दन यादव र कप्तान सन्दीप लामिछानेले एक–एक विकेट हात पारे।

ओमानलाई अन्तिम ओभरमा जितका लागि २३ रन आवश्यक थियो। बलिङको जिम्मेवारी दीपेन्द्रसिंह ऐरीले सम्हाले।पहिलो बलमा  हसनैन शाहले दुई रन लिए। त्यसपछि लगातार दुई चौका प्रहार गरेपछि ओमानलाई बाँकी तीन बलमा १३ रन आवश्यक भयो।

चौथो बलमा दुई रन जोडेको ओमानलाई अन्तिम दुई बलमा ११ रन चाहिएको थियो। तर, दीपेन्द्रले पाँचौँ बलमा कुनै रन दिएनन्। अन्तिम बलमा पनि ओमानले रन जोड्न सकेन। यससँगै नेपालले १० रनको रोमाञ्चक जित निकाल्यो। ठूलो साझेदारीपछि दबाबमा परेको नेपालले अन्तिम चरणमा विकेट निकाल्दै र किफायती बलिङ गर्दै खेल आफ्नो पक्षमा पार्‍यो।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २८० रन बनाएको थियो। नेपालका लागि रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी र देव खनालले अर्धशतक बनाए। रोहितले ८१ बलमा दुई चौका र दुई छक्कासहित सर्वाधिक ८० रन बनाए। दीपेन्द्रले ६२ बलमा तीन चौका र चार छक्काको मद्दतमा ६९ रन जोडे। ओपनर देवले ६५ बलमा चार चौका र एक छक्कासहित ५७ रन बनाए।

नेपालले ९९ रनमा तीन विकेट गुमाइसकेको अवस्थामा रोहित र दीपेन्द्रले चौथो विकेटका लागि १३९ रनको महत्त्वपूर्ण साझेदारी गरे। यही साझेदारीले नेपालको स्कोर बलियो बनाएको थियो। रोहित र दीपेन्द्र आउट भएपछि भने नेपालको ब्याटिङ फेरि कमजोर बन्यो। २३८ रनमा तीन विकेटको अवस्थामा रहेको नेपालले बाँकी विकेट गुमाउँदै २८० रनमा अलआउट भयो। अन्तिमतिर बसिर अहमदले सात बलमा दुई चौका र एक छक्कासहित १७ रन बनाएर नेपालको स्कोर बढाए।

ओमानका शाह फैसलले आठ ओभरमा ५७ रन खर्चेर पाँच विकेट लिए। जय ओडेदराले तीन तथा समय श्रीवास्तवले दुई विकेट लिए।

ओमानविरुद्धको खेल नेपालका लागि जित्नैपर्ने अवस्था थियो। लिग–२ को अन्तिम शृंखलाका लागि ओमान पुगेको नेपालले सुरुवाती दुई खेलमा क्यानडा र ओमानलाई हराएको थियो। तर, शनिबार क्यानडासँग पराजित भएपछि नेपालको शीर्ष ६ मा रहने सम्भावना दबाबमा परेको थियो।

नेपाललाई हराएपछि क्यानडा ३६ खेलबाट २९ अंकसहित छैटौँ स्थानमा उक्लिएको थियो भने ३५ खेलबाट २८ अंक रहेको नेपाल सातौँ स्थानमा झरेको थियो। त्यसैले ओमानविरुद्धको अन्तिम खेलमा जित निकाल्नु नेपालका लागि अनिवार्यजस्तै बनेको थियो। जितसँगै नेपालले ३६ खेलबाट ३० अंक जोड्दै क्यानडालाई पछि पार्‍यो र शीर्ष ६ मा स्थान बनायो। ओमान भने ३२ खेलबाट ३३ अंकसहित अंकतालिकाको चौथो स्थानमा छ।

नेपालका लागि यो जित केवल अंक थप्ने नतिजा होइन। ठूलो साझेदारीपछि पनि हार नमान्ने र दबाबपूर्ण अवस्थामा बलिङमार्फत खेलमा फर्किने क्षमताको प्रदर्शनसमेत हो। लिग–२ को शीर्ष ६ मा स्थान पक्का गरेसँगै नेपालले आफ्नो ओडीआई मान्यता जोगाउने सम्भावनालाई बलियो बनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्