२०८३ बैशाख १८, शुक्रबार

जङ्गली च्याउको तरकारी खाँदा ओखलढुङ्गामा दुईको मृत्यु, दुईको अवस्था गम्भीर

जङ्गलबाट ल्याएको च्याउ तरकारी पकाएर खाँदा ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका-७ फूलबारीमा एकै घरका दुई जनाको मृत्यु भएको छ । सँगै खाना खाएका अन्य दुई जनाको गम्भीर अवस्थामा काठमाडौंमा उपचार भइरहेको छ ।

सँगै खाना खाएका ९३ वर्षीया मनमाया विष्ट र २४ वर्षीया ढककुमारी लामिछानेको मंगलबार मृत्यु भएको हो । ढककुमारीको ओखलढुङ्गा सामुदायिक अस्पताल मिसनमा उपचारका क्रममा मृत्यु भएको हो भने मनमायाको महाराजगञ्जमा रहेको टिचिङ अस्पतालमा मृत्यु भएको हो ।

मृतक ढककुमारीका पति २७ वर्षीय राजन विष्ट, हजुरआमा मनमाया विष्ट र ढककुमारी र राजनका तीन वर्षीया छोरी सरिस्मा विष्टलाई ओखलढुङ्गामा सामान्य उपचार गरी थप उपचारका लागि मंगलबारै हेलिकप्टरबाट काठमाडौं लगिएको थियो ।

मनमायाको शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्