प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल जेठ २५ बाट कार्यालयमा हाजिर भएका छैनन् । उनले मागेको बिदा आईजीपी धिरज प्रताप सिंहले दोस्रोपटक अस्वीकृत गरे । जेठ २५ बाट गैर हाजिर भएका पोखरेललाई काममा फर्किन प्रहरी प्रधान कार्यालयले अनुरोध गरेको छ । तर, उनी अदालतमा विचाराधीन मुद्दाको टुङ्गो नलागुन्जेल काममा नफर्किने बताउँछन् ।
वैशाख १८ मा मन्त्रिपरिषद्ले धिरजप्रताप सिंहलाई आईजीपी नियुक्त गरेपछि पोखरेलले पेश गरेको ३० दिनको बिदा पूर्व आईजीपी शैलेश थापाले क्षेत्रीले स्वीकृत गरेका थिए । सो बिदा सकिएपछि पोखरेलले थप दुई पटक बिदा मागेका हुन् । आईजीपी बढुवा विरुद्ध उनले सर्वोच्चमा दायर गरेको रिटमा सुनुवाइ भइरहेको छ । मुद्दा कामु प्रधान न्यायाधीश दीपक कार्की र न्यायाधीश डा. कुमार चुडालको इजलासमा असार १९ मा सुनुवाइ हुने गरी हेर्दाहेर्दै राखिएको छ ।
जेठ २५ र असार ६ मा पोखरेलले मागेको बिदा अस्वीकृत गरेर प्रहरी प्रधान कार्यालयले उनको घर ठेगानामा ‘हाजिर हुन आउने’ म्याद तामेल गर्ने तयारी गरेको छ । एआईजी पोखरेललाई बिदा ‘अस्वीकृत भएको’ जानकारी गराएको प्रहरी प्रवक्ता (एसएसपी) विष्णु कुमार केसीले रातोपाटीलाई बताए । उनले भने–‘इमेल र म्यासेजमार्फत बिदा अस्वीकृत भएको जानकारी गराएका छौँ ।’ सार्वजनिक बिदा घटाएर पोखरेल अहिलेसम्म १७ दिन गैर हाजिर भएका छन् । ‘बिदा अधिकार होइन’ प्रहरी प्रवक्ता केसी भन्छन्–‘लामो समय गैर हाजिर भएमा प्रहरी नियमावली अनुसार प्रक्रिया अघि बढ्छ ।’
एआईजी पोखरेलले हुलाक बाट समेत बिदा मागेर पत्र पठाएका थिए । मुद्दा फैसला हुनुअघि हाजिर हुन नजानेबारे अदालतमा पनि जानकारी गराएको पोखरेलले रातोपाटीलाई बताए । उनले भने–‘बिदा मागेको बारे इजलासमा पनि निवेदन पेश गरेको छु, मभन्दा जुनियरलाई आईजीपी मानेर काममा फर्किन्नँ ।’







प्रतिक्रिया लेख्नुहोस्